पोखरा । पोखरा महानगरपालिकाले यहीँ फागुन ३ गते शनिबार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गर्ने भएको छ ।  २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ  भ्रमण वर्ष घोषणा गर्न लागिएको हो । जसको लागि सम्पूर्ण तयारी पुरा भएको विहीबार पत्रकार सम्मेलन गरेर महानगरपालिकाले जानकारी दिएको छ ।

आन्तरिक र बाह्य गरी यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए।  जसको लागि पोखरा आउने पर्यटकको लागि आकर्षण थप्न विभिन्न प्याकेज दिने तयारीमा महानगर रहेको उनले खुलाए । घोषणा कार्यक्रम भव्य बनाउने महानगरको तयारी छ । घोषणा कार्यक्रममा महानगरका ३३ वटै वडा र आसपासका पालिकाबाट जातीय, भाषिक, धार्मिक र सांस्कृतिक पहिचान झल्कने झाँकी र्‍यालीसहित महानगरबासीको उपस्थिति रहने प्रमुख आचार्यले बताएका छन् ।

पोखरा भ्रमण वर्ष सफल पार्नका लागी तीनवटै तहका सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र मिलेर पोखरामा भिन्दै प्याकेज तयार पार्ने उनले बताए। महानगरले पोखरा भ्रमण वर्ष सफल पार्नका लागी उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न संसार भरका विदेशी, गैरआवासीय नेपाली तथा स्वदेशी पर्यटकलाई पोखरा भ्रमण गर्न आह्वान गर्ने, विदेशमा रहेका नेपाली दूतावास लगायत विभिन्नसँग संस्थाहरूसँग समन्वय गरी पोखरा भ्रमण २०२५ प्रवर्द्धन गरिदिन आह्वान गर्दै आवश्यक सहकार्य गर्ने लगायतका योजना बनाएको छ ।

राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा समिट आयोजना गर्ने, विश्वभर पोखरा भ्रमण वर्षको प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटी लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी एवं मुलुकका मुख्य सहरहरूमा सिधा उडानको व्यवस्था गर्न पहल गर्ने लगायतका  अभियानहरू सञ्चालन गर्ने प्रमुख आचार्यले उल्लेख गरेका छन् ।

गतवर्ष चैत ४ गते  पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । पोखरा भ्रमण वर्षलाई सफल पार्नका लागि प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ७३ सदस्यीय एक निर्देशक समिति र पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा २० सदस्यीय कार्य सम्पादन समिति  र अन्य ४३ समिति  गठन गरिएको छ । एमाले उपाध्यक्ष समेत रहेका नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको विशेष उपस्थितिमा भ्रमण वर्षको घोषणा कार्यक्रम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0