पोखरा । थ्री स्टार क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा ५ पटकको विजेता थ्री स्टारलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार ६ पटकको विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ। विभागीय टोली पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

पहिलो हाफको एक गोल गरेर अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा भने एक पछि अर्को गर्दै थप ३ गोल गर्‍यो । खेलको २४औं मिनेटमा ब्ल्याक बुल्सका कुभोनचेक ओलिमोभले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । 

खेलको ५८औं मिनेटमा असिलबेक ओरिपजोनोभले गोल गर्दै ब्ल्याक बुल्सलाई अग्रता दोब्बर बनाए । उनी प्लेयर अफ दि म्याच पनि हुन सफल बने । ६३ औं मिनेटमा सात्तोरोभले गोल गरे ।  ८७औं मिनेटमा साइदजमोद दाभलातजोनोभले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता फराकिलो बनाए । त्यसपछि दुवैतर्फ गोल हुन सकेन र आहा रारामा पहिलो पटक सहभागी भएको ब्ल्याक बुल्सले फाइनल यात्रा तय गर्न सफल भयो । 

सहारा क्लब पोखराको आयोजनामा भइराखेको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तस्बीर : सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0