पोखरा । कास्की प्रहरीले एक महिनाको अवधिमा १ सय ५३ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । माघ १ गतेदेखि ३० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जि.सी.ले जानकारी दिएका छन् ।
उनीहरु अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका व्यक्ति थिए । पक्राउ परेका १ सय २५ जना पुरुष र २८ जना महिलालाई फैसला कार्यान्वयनको लागि अदालतमा बुझाइएको निमित्त सूचना अधिकारी जिसीले खुलाए।
उनीहरूबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र एक करोड बाउन्न लाख अड्चालिस हजार आठ सय छयासी रुपैयाँ जरिवाना असुल हुनेछ ।
यसरी पक्राउ पर्नेमा चेक अनादर मुद्दाका ९६ जना, लागू औषध सम्बन्धी मुद्दाका १४ जना, बैङ्किङ कसूर मुद्दाका १८ जना, अभद्र व्यवहार मुद्दाका ५ जना, न्यूनस्तरको खाद्य उत्पादन बिक्री गरेको सम्बन्धी मुद्दाका २ जना रहेका छन् ।
यसैगरी स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका १ जना कुटपिट मुद्दाका १ जना, जालसाजी मुद्दाका ४ जना, लेनदेन मुद्दाका १ जना र चोरी मुद्दाका ९ जना पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।
