पोखरा । चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गर्दै पराजित नेपाल पुलिस क्लब पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जित दिलाउन सञ्जीव लामाले गोल गरे । खेलको ५८औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र सिंह थापा झुक्किदा सञ्जीवले हानेको बलले जाली चुमेको थियो । सञ्जीव प्लेयर अफ दि म्याच समेत हुन सफल भए । पाएका अवसरमा गोल गर्न नसक्दा चर्च ब्वाइज सेमिफाइनलबाटै घर फर्किनुपर्‍यो । 

बुधबारको खेल आहा रारा पोखरा गोल्डकपको २ सय ५० औँ खेल भएको कारण समेत महत्वका साथ हेरिएको थियो । आहा राराको सफल टोलीको रुपमा परिचित पुलिसको समेत यो प्रतियोगिताको ५०औं खेल थियो। पुलिस आहारारा पोखरा गोल्डकपमा ११औं पटक फाइनल पुगेको हो । यसअघि १० पटक फाइनल खेल्दा पुलिसले ६ पटक उपाधि जितेको थियो भने ४ पटक उपविजेतामा सीमित भएको थियो ।

पुलिस यस प्रतियोगितामा धेरै फाइनल पुग्नेमा दोस्रो स्थानमा छ । मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक १२ फाइनल खेलेको छ । मनाङ पनि ६ पटक उपाधि जितेको छ । पुलिसले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । खेलमा थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आमनेसामने हुनेछन् । सहारा क्लब पोखराको आयोजना गरेको यस प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तस्बिर: उमेश पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0