पोखरा । पोखरामा ट्याक्सीमा चढ्दा लगबुकमा विवरण अनिवार्य भर्नुपर्ने भएको छ । यो कार्यको शुभारम्भ बुधबार गरिएको छ । वडा प्रहरी कार्यालय बैदामको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ‘ट्याक्सी यात्रु लग बुक कार्यक्रम’को शुभारम्भ भएको हो  ।

कार्यक्रमको शुभारम्भ गर्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले अनुसन्धानका क्रममा ट्याक्सीमा सवार यात्रुको विवरण महत्वपूर्ण हुने बताए । यो विवरण सङ्कलनबाट ट्याक्सीमा कुन व्यक्ति चढेको छ, कुनठाउँबाट कहाँसम्म पुग्यो, लगेजहरू के कति थिए भन्ने बारेमा थाहा हुने बताए । जसका कारण ट्याक्सी चालकको बारेमा कतै उजुरी परेमा प्रमाणको रुपमा पेश गर्न सहज हुने उनले औँल्याए । ट्याक्सी चालकले सेवा दिने क्रममा आफ्नो छवि राम्रो बनाउन जरुरी भएको उनको सुझाब थियो । जनमानसमा ट्याक्सीले मिटरमा चलेपनि बढी पैसा लिन्छ भन्ने सोचाइ रहेको भन्दै यात्रुलाई विश्वास लिने खालको व्यवहार चालकले गर्नुपर्ने खुलाए । चालकको छविलाई यो उच्च गर्न लगबुकले सघाउने उनको विश्वास छ । यसको माध्यमबाट काममा सहजता सँगै पारदर्शिता समेत देखिने उनको तर्क छ । यसले चालकलाई गुणस्तरीय सेवा दिन र यात्रुलाई ठगिनबाट जोगाउने भएकोले चालक र यात्रुबीचको उत्तर दायित्व बढ्ने बताए ।

पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष भट्टराईले लगबुक मार्फत यात्रुको विवरण सङ्कलन गर्ने कार्य प्रसंशनिय भएको बताए । उनले ट्याक्सी चालकलाई अनुशासित भएर सेवा प्रदान गर्न आग्रह गरे । सोच विचार नगरी कार्य गर्दा कतिपय समयमा यात्रुको कारणबाट ट्याक्सी चालकको ज्यान जोखिममा समेत पर्ने तथा अनावश्यक झमेलामा फस्ने गरेकोमा विवरण सङ्कलन पश्चात भने त्यसमा कमी आउने विश्वास व्यक्त गरे । उनले रातीको समयमा यात्रुले टाढा–टाढा लगरे भाडा नदिएको बरु उल्टै ट्याक्सी चालकलाई नै लुटेको अवस्था समेत रहेको भन्दै त्यस्तो अवस्था आउन नदिन यात्रुको विवरण सङ्कलन कार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे । सेवा लिने क्रममा नागरिक पनि सचेत हुनुपर्ने भन्दै सस्तो पाएको आधारमा असुरक्षित यात्रा नगर्न उनी आग्रह गर्छन् ।

पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले राज्यको दायित्व शून्य प्रतिशत रहेको भन्दै निजी लगानीबाट सार्वजनिक सडकमा विभिन्न समस्याका बावजुत यातायात व्यवसायीले सेवा दिइरहेको बताए । यात्रुलाई प्रस्थानविन्दुबाट गन्तव्य विन्दुमा पुर्‍याउन सार्वजनिक यातायात र ट्याक्सीको क्षेत्रमा अत्यन्त महत्वपूर्ण जिम्मेवारी रहेको बताए । यातायात मजदुर र लगानीकर्ता व्यवसायीक हुन नसकेको गुनासो उनको थियो । उनले पेशा र व्यवसायलाई मर्यादित र व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याए । व्यवसायीले आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्यलाई विर्सन नहुनेमा उनको जोड छ । सवारी दुर्घटना तथा सडकका कारण हुने समस्याबाट प्रताडित रहने गरेको बताएका उनले यसतर्फ राज्यको तर्फबाट कतिपनि ध्यान नपुगेको दावी गरे । नेपालको पर्यटकिय राजधानी पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पोखराको पहिचान दिनका लागि यातायात व्यवसायिको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको समेत बताए । ट्याक्सीमा लगबुकको सुरुवातले पर्यटन प्रवर्द्धन गर्न सघाउने विश्वास उनको छ ।

एवन ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले यात्राका क्रममा शंकास्पद व्यक्ति भेटिएमा प्रहरीमा खबर गर्न चालकहरुसँग आग्रह गरे । अहिले प्रविधि र सूचनाको जमाना भएकोले सही ढंगले सूचना दिएमा पर्न लागेका समस्याबाट उन्मुक्ति पाउन सकिने बताए । ट्याक्सीमा चढेर भाडा नदिनेलाई समेत कारवाहीको दायमा ल्याउन सघाउने विश्वास उनको छ ।

लगबुक शुभारम्भ कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका कार्यालय प्रमुख शोभा पाण्डे, पत्रकार श्यामनाथ कुँवर, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौला, प्रहरी निरिक्षक किरण थापा मगर लगायतले बोलेका थिए ।

लगबुकमा सवारी साधन चलाउँदा चालकले ध्यान दिनुपर्ने कुराहरु र यात्रुहरुले सवार गर्दा थाहा पाउनुपर्ने कुराहरु समेत उल्लेख गरिएको छ । लगबुक शुभारम्भ कार्यका लागि विशेष सहकार्य तथा सहयोगी संस्थाका रुपमा पोखरेली ट्याक्सी सेवा प्रालि रहेको छ । यस्तै एवन ग्रेटर यातायात प्रालि पोखराले सहकार्य गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0