पोखरा । २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ । मङ्गलबार सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० को गोल अन्तरले पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी सेमिफाइनलमा प्रवेश गरेपछि पोखरा गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको हो ।
पहिलो हाफमा एक गोलले अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप दुई गोल थप्यो । खेलको ३८औँ मिनेटमा ब्ल्याक बुल्सका इस्लोम्जोन अब्दुकोदिरोभले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ७३औं मिनेटमा साइदज्मोल दाभलातजोनोभले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर बनाएका थिए । त्यसको दुई मिनेटमै ब्ल्याक बुल्सले अर्को गोल थप्यो । ७५औं मिनेटमा शाब्कात्जोनले डी–बक्स बाहिरबाट गोल गर्दै टोलीलाई तेब्बर अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स ३–० ले विजयी भयो ।
पहिलो खेलमा सङ्कटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेकाे थन्डरबोल्ट दोस्रो खेलमा ब्ल्याक बुल्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । ब्ल्याक बुल्ससहित नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेका छन् ।
पहिलो सेमिफाइनल खेलमा भोलि नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल थ्री स्टार र ब्ल्याक बुल्सबीच बिहीबार हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
तस्बिर : सुदर्शन रञ्जित
