पोखरा । केही दिनदेखि फोहोर नउठ्दा पोखरामा फोहोर थुप्रिन थालेको छ । महानगरले वडा नम्बर ३२ लामेआहालमा अस्थायी रुपमा फोहोरमैला व्यवस्थापन गर्दै आएकोमा सम्झौता अवधि सकिएपछि फोहोर उठ्न नसकेको हो । लामे आहालमा हाल स्थानीयले फोहोर व्यवस्थापनमा रोक लगाएका छन् । महानगरको फोहोर नउठ्दा मुख्य सडक र बस्तीका खाली ठाउँमा दुर्गन्ध फैलन थालेको छ ।

 पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले १, २ दिनमा फोहोर उठाउन सुरु गरिने बताए । स्थानीय सँग यसअगाडि भएको सम्झौता क्रमिक रुपमा कार्यान्वयन भैरहेको उनको दावी छ । महानगरपालिकाले पोखरा ३२ लामे आहालमा स्थानीयसँग सम्झौता गरेर विगत १८ महिनादेखि व्यवस्थापन गर्दै आइरहेको छ । सम्झौता अनुसारको खोल्सो पुरिने समय अझै बाँकी रहेको उनले बताए । सुरुमा सम्झौता गर्दा त्यो खाल्टो पुरै पुर्ने भन्ने भएकोले पुर्नुपर्ने ठाउँ अझै बाँकी भएकोले फोहोर व्यवस्थापन गर्न समस्या नहुने उनले खुलाए । स्थानीयका केही गुनासा भने रहेको उनले स्वीकार गरे । 

पोखरा २५ का वडाध्यक्ष समेत रहेका प्रवक्त्ता तिम्सीनाले सोमबार मात्र त्यहाँका स्थानीय, राजनीतिक दल र स्टकहोल्डरसँग जनप्रतिनिधि सहितको उपस्थितिमा छलफल भएको बताए । उनले १, २ दिनमा फोहोर मैलाको विषय समाधान हुने दावी गरे । 

फोहोरमैलाको दिगो व्यवस्थापनको लागि समेत महानगरपालिका लागिरहेको भन्दै उनले वडा नं. ३३ मा फोहोर मैलाको प्रशोधन केन्द्र बनाउन महानगरपालिकाले योजना अगाडि बढाएको बताए । त्यसको लागि प्रक्रिया धेरै अगाडि बढेर जग्गा प्राप्तिको चरणमा पुगेको बताए । प्रशोधन केन्द्र तयार नहुँदासम्म अहिले मौजुदा ल्यान्डफिल साइड रहेको ठाउँमा अस्थाई रुपमा डम्पिङ गर्ने उनको भनाइ छ ।

लामेआहालका स्थानीयसँग गरिएका धेरै सम्झौता कार्यान्वयनको चरणमा रहेको उनले खुलाए । केही सम्झौता कार्यान्वयन हुन नीतिगत र प्रक्रियागत रुपमा केही समय लागेको तर्क उनको छ । शहरी स्वास्थ्य प्रबन्ध केन्द्रको कुरा, दरबन्दी सिर्जना गरेर कर्मचारी व्यवस्थापन गर्ने कुरा र स्वास्थ्य बीमा लगायतका कुराको व्यवस्थापन प्रभावकारी ढङ्गले गर्न लागिएको तिम्सीनाले खुलाए । पोखरा महानगरपालिकाले फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ घोषणा समेत गर्दैछ । उनले ३ गते भित्रमा उठ्ने ठोकुवा गरे ।

 फोहोर नउठाइन्जेलसम्मको अवधिमा भने चोकमा ल्याएर वा सडकको पेटीमा ल्याएर फोहोर नफाल्न महानगरवासी सँग उनको आग्रह छ । गाडी नआउँदासम्म फोहोर घरमा नै राख्न र फोहरमैला बोक्ने गाडी आएपछि मात्र बाहिर निकालेर सभ्य नागरिकको परिचय देखाइदिन उनले अनुरोध गरे । 

पटक पटक फोहोरमैला प्रभावित क्षेत्रमा सरसफाइ, विकास निर्माणबारे गर्नुपर्ने काममा प्रतिवद्धता जनाएर पनि काम नहुँदा समस्या आएको हो । पोखरामा दैनिक एक सय टन भन्दा बढी फोहोर संकलन हुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0