पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा माघ ३० बुधबार हुने ‘२४औँ वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम’को सम्पूर्ण तयारी पुरा भएको छ । पोखरा वीरेन्द्रचोकस्थित भमरकोट पार्टी प्यालेसमा हुने वार्षिकोत्सव कार्यक्रममा स्रष्टा सम्मान एवं विद्यार्थी पुरस्कार वितरण हुने आयोजकले जनाएको छ।
तमु समुदायका किशोरकिशोरीहरूलाई शिक्षा प्रति आकर्षण र जागरुक गराउने उद्देश्यले हरेक वर्ष वार्षिकोत्सवको दिन संस्थाले पुरस्कृत गर्दै आइरहेको जनाएको छ । सोमबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइए अनुसार यस वर्ष उच्च शिक्षा अवार्डबाट सम्राट तमुलाई पुरस्कृत गरिने भएको छ ।
लालशोभा उत्कृष्ट आमा अवार्डबाट लमजुङ, क्होलासोंथर भुजुङ मा.वि कक्षा १२ मा ३ दशमलव ५५ जिपिए प्राप्त विद्यार्थी चित्रकाशीका आमा तसकुमारी तमुलाई पुरस्कृत गरिने बताइएको छ । उच्च शिक्षा अवार्ड र उत्कृष्ट आमा अवार्डको पुरस्कार रकम २०/२० हजार रुपैयाँ रहेको छ ।
स्रष्टा सम्मान तर्फ पार्वता तमु स्मृति पुरस्कारबाट चलचित्रकर्मी माओत्से तमुलाई नगद १० हजार र क्या.मिन बहादुर तमु (डाँफे बुढा) पुरस्कारबाट संस्कृतिकर्मी कर्ण बहादुर तमुलाई नगद २५ हजार सहित सम्मान गरिने छ।
शिक्षा, साहित्य एवम् समाजसेवा विधामा एकेन्द्र तमु, सामाजिक सेवा विधामा सूर्य तमु र हरि तमुलाई विशेष सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
संस्थाले विद्यार्थी छात्रवृत्ति वितरण सँगसँगै विभिन्न खालका प्रशिक्षण कार्यक्रम, संस्कृति संरक्षण संवर्द्धन गर्ने उद्देश्यले छ्याडु प्रतियोगिता, छ्याडु प्रशिक्षणलगायतका कार्यक्रमहरू पनि बेलाबखत गर्दै आइरहेको छ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र बहादुर गुरुङले संस्था देश विदेशमा परिचित भैसकेको बताए । जापानमा स्थापना भएको यो संस्थाको कार्यक्षेत्र नेपालको गण्डकी प्रदेश राखिएकोले धेरै कार्यक्रम पोखरामा हुने गरेको उनले खुलाए । संस्था २०५८ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको थियो ।
संस्थामा हाल ५२ जना संस्थापक सदस्य, देश र विदेशमा गरि १ सय ७९ जना आजीवन सदस्य तथा २ जना मानार्थ सदस्यहरू रहेको बताइएको छ । प्रतिष्ठान नेपालका अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष चिजकाजी तमु, सहसचिव भेष बहादुर गुरुङ लगायतले बोलेका थिए ।
