पोखरा । नेकपा एमाले निकट पत्रकारको सङ्गठन प्रेस चौतारी नेपाल कास्की शाखाको नवनिर्वाचित कार्यासमितिको पदस्थापना कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार पोखराको साइमन पार्टी प्यालेसमा नेकपा एमाले कास्की अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेर पदस्थापन गरिएको हो ।
कार्यक्रममा बोल्दै एमाले कास्की अध्यक्ष अधिकारीले चौतारीले पार्टीले गरेका राम्रा कार्य जनतामा पुर्याउन र गल्ती कमजोरी गर्दा खबरदारी गर्नुपर्ने बताए । अन्य सङ्गठन भन्दा फरक देखिने गरेर आवाज विहीनका आवाज मुखरित गर्न र पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसंगतिलाई रोक्ने कार्यमा अगुवाई गर्न उनको आग्रह थियो ।
नवनिर्वाचित अध्यक्ष मोति सागर अधिकारीले प्रेस चौतारी कास्कीको शाख जोगाउदै पत्रकारिता क्षेत्रका सबै सङ्गठनसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए । अक्षयकोष स्थापना र पुरस्कारलाई व्यवस्थित बनाउने उनले बताए । नेपाल पत्रकार महासङ्घको सदस्यता प्राप्त गर्नबाट वञ्चित गरिएका क्रियाशील पत्रकारलाई सदस्यता दिलाउन चौतारीले अगुवाई गर्ने समेत उनको वाचा छ ।
प्रेस चौतारीको गत मङ्गलबार भएको शाखाको नवौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो। समिति उपाध्यक्षमा गिरिधारी पोखरेल, उपाध्यक्ष (महिला)मा रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी, सहसचिव(समावेशी)मा सुरेश सुनार र कोषाध्यक्षमा सन्दीप खनाल सर्वसम्मत भएका थिए । सञ्जय थापा, सुजन पौडेल, रचित पौडेल, आशिष पुरी, बिनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने सदस्य चयन भएका थिए ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन ढुँगानाको अध्यक्षतामा भएको पदस्थापना कार्यक्रममा पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष समेत रहेका प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद प्रतीक, प्रेस काउनस्सिल नेपालका सदस्य केशवशरण लामिछाने, प्रेस युनियन कास्की अध्यक्ष वासुदेव मिश्र, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बराल, निर्वाचन समितिका सदस्य नवराज सापकोटा लगायतले बोलेका थिए ।
