पोखरा । पोखरामा ‘चिफ कर्णेल गजराजसिंह थापा’ ऐतिहासिक उपन्यासको अन्तरचर्चा कार्यक्रम गरिएको छ ।  सोमबार इन्द्रेणी थिएटरले पोखरामा एक विशेष कार्यक्रमको आयोजना गरेर उपन्यासको बारेमा अन्तरचर्चा र पोखरा लोकार्पण कार्यक्रम गरिएको हो ।

प्रा.डा. रामचन्द्र पोखरेलले उपन्यासको अवधारणा पत्र तयार गरी ‘चिफ कर्णेल गजराजसिंह थापा’ उपन्यासको ऐतिहासिक तथ्य र काल्पनिक स्थितिबारे विस्तृत विश्लेषण गरे । यो आख्यानकार डा. देवी क्षेत्री दुलालद्वारा लेखिएको ऐतिहासिक उपन्यास हो । उपन्यास गत कार्तिकमा लेखक स्वयंले प्रकाशन गरेका हुन् ।  श्री ३ जङ्गबहादुर राणाकी छोरी ज्वाइँ इलामका बडाहाकिम गजराजसिंह थापाको सत्कर्म, त्यसले तत्कालीन समाजमा पारेको प्रभाव र ‘चिफ कर्णेल गजराजसिंह थापा’को इलाम गौडाको उत्कट प्रेमभावलाई आख्यानको रूपमा चयन गरी डा. देवी क्षेत्री दुलालले यो उपन्यास लेखेका हुन् । उपन्यास सत्र खण्डमा संरचित छ । 

उपन्यासले गजराजसिंहले दार्जिलिङबाट चियाका बिरुवा ल्याई वि.सं. १९२० मा इलाममा चिया बगान बनाएको, वि.सं. १९३५ मा बेलायतबाट कारखानाका सामान ल्याएर इलाममा चिया कारखाना स्थापना गरेको, वि.सं. १९४० मा सोक्तिममा चिया प्रशोधन कारखाना स्थापना गरेको, १९३५ र १९४० मा स्थापना भएका कारखानाबाट चिया प्रशोधन भएको ऐतिहासिक तथ्यलाई सुन्दर ढङ्गमा आख्यानीकरण गरेका छन् भनि प्रा.डा. पोखरेलले  आफ्नो अवधारणा पत्र प्रस्तुत गरे ।  उपन्यासको विश्लेषण कृष्ण उदासीले गरे ।  

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति  सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाल, उपन्यासकार डा. देवी क्षेत्री दुलाल लगायतले बोलेका थिए । थिएटरका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामहरि अधिकारीले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0