पोखरा । विश्व सिमसार दिवस २०२५ को अवसरमा पोखराको फेवाताल किनारमा सिमसार संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ फोटो प्रदर्शनी गरिएको छ । पत्रकार कृष्णमणि बरालद्वारा खिचिएका सिमसारका विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी भएको हो ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को सहयोगमा भएको सिमसार संरक्षण फोटो प्रदर्शनीमा विगत २० वर्ष यता विभिन्न समयमा खिचिएका फेवाताल सहित पोखराका ९ तालका विभिन्न अवस्था झल्कने ३५ वटा तस्बिर प्रदर्शनमा राखिएको पत्रकार कृष्णमणि बरालले जानकारी दिए । 

२० वर्षकै अन्तरालमा फेवाताल कसरी साँगुरिएको छ र प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने तुलनात्मक तस्बिर प्रदर्शनीमा राखिएको थियो । सिमसार, सिमरामा पाइने जीव, सबै प्राणीका लागि नभैनहुने पानीका स्रोत संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यका साथ संरक्षण फोटो प्रदर्शन गरिएको पत्रकार बरालले बताए । फोटो प्रदर्शनीको सामूहिक रुपमा पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानबहादुर जलारी र वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्र.ना.उ.सन्तोष निरौलाले उद्‌घाटन गरेका थिए । 

सिमसार क्षेत्रको संरक्षणका साथै पर्यावरणीय संरक्षणमा यो प्रदर्शनीले जनचेतना अभिवृद्धि गर्ने वडा अध्यक्ष भट्टराईले विश्वास गरे । २० वर्षकै अवधीमा ताल धेरै साँघुरिदै जानुको साथै प्रदूषणको चपेटामा परेकोले पुर्खौँदेखि माछा मारेर जीवीका चलाउँदै आएका जलारी समुदायको पेशा नै सङ्कटमा पर्दै गएको हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले बताए । देख्दा देख्दै ५० प्रतिशत भन्दा बढी ताल पुरिएकोमा पनि उनले चिन्ता व्यक्त गरे ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले प्राकृतिक स्रोतको संरक्षणमा सबै हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए । आयोजक संस्था राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले सङ्कटमा पर्दै गएका पोखराका सिमसार संरक्षणका लागि सबैलाई ध्यान आकर्षण गर्न फोटो प्रदर्शनीका आयोजना गरिएको बताए । सिमसार लगायत सबै प्राकृतिक स्रोत संरक्षणका लागि आगामी दिनमा पनि निरन्तरता दिने पनि उनले बताए । सिमसार संरक्षण फोटो प्रदर्शनीको विभिन्न विद्यालयका विद्यार्थी, आमा समूह, पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटक लगायतले अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0