काठमाडौँ । दमौली अस्पतालको विस्तारका लागि बाटो खुलेको छ । लामो समयदेखि जग्गा अभावका कारण अस्पताललाई ५० शय्यामा विस्तार गर्ने प्रक्रिया अघि बढ्न नसकेकामा अब प्राप्तिको बाटो खुलेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको विस्तारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ र कृषि ज्ञान केन्द्रले प्रयोग गर्दै आइरहेको मध्येको ३ रोपनी ५ आना जग्गा प्राप्त गर्ने सहमति सहितको प्रस्ताव गण्डकी प्रदेशमा पठाएका छन् ।

यसअघि कृषि मन्त्रालयले सो जग्गा गर्नका लागि मन्त्रालयलाई सहमति दिइसकेको छ । अब गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले सहमति दिए पछि सङ्घ सरकारले जग्गा अस्पतालका लागि उपलब्ध गराउनेछ ।

अस्पतालका लागि आवश्यकमध्ये भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वमा रहेको रोपनी ५ आना तथा कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको २ रोपनी जग्गा प्राप्तिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहमति दिएको हो ।

पृथ्वी राजमार्गको मध्यभागमा रहेको दमौलीमा अस्पताल विस्तारको विषय लामो समयदेखि उठे पनि जग्गा प्राप्तिसम्बन्धी निर्णय नहुँदा अघि बढ्न सकेको थिएन ।

दमौली अस्पतालको निरीक्षणका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएरै छाड्ने दृढता गरेका थिए ।

सोही अनुरूप अस्पतालको प्रस्ताव कृषि मन्त्रालय, अर्थ मन्त्रालय हुँदै अघि बढाउन मन्त्री पौडेलले पहल गरेका थिए ।
अब गण्डकी प्रदेशबाट स्वीकृतिपछि सङ्घ सरकारले अस्पताललाई जग्गा हस्तान्तरण गर्नेछ ।
यसपछि प्रदेशको स्वामित्वमा रहेको  अस्पतालको विस्तारको काम अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0