पोखरा । कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा सोमबारदेखि कास्की क्लब स्तरीय टी—२० लिग क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । पोखरा रङ्गशाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा कास्कीमा आवद्ध ९ मध्ये ८ वटा क्लबले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ । क्रिकेट मैदान पूर्णरुपमा तयारी गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेल बिहान ८ बजे साविक च्याम्पियन राइजिङ पोखरा क्रिकेट क्लबले लेकसाइड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । त्यसैगरी दोस्रो खेल माछापुच्छ्रे क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबसँग खेल्ने खेल तालिका छ । कास्कीमा राइजिङ, माछापुच्छ्रे, पोखरा क्रिकेट, कास्की क्रिकेट क्लब, साङ्ग्रिला क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, लेखनाथ युथ क्रिकेट, लेकसाइड क्रिकेट क्लबको आवद्ध छन् ।
क्लबहरूबीच राउन्ड रोविनमा प्रतिस्पर्धा गराइने कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । कास्की जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक दुर्गाबहादुर चन्दका अनुसार प्रतियोगिता उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गर्ने छन् । प्रतियोगिताको लागि झण्डै ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
