पोखरा । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग अन्तरगत कास्की खण्डमा पर्ने ठाउँहरूमा सडक तथा पुल निर्माणको काम भइरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका इन्जिनियर अर्जुन पौडेलले जानकारी दिएका छन् । जिल्ला समन्वय समिति कास्कीले गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा यो आर्थिक वर्षको पहिलो ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गर्दै उनले रुदिखोला भैसे सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम भइरहेको बताए ।
रुदिखोला भैसे सडक अन्तरगत १६ किमि रहेकोमा १५ दशमलव ५ किमि कालोपत्रे सम्पन्न भएको उनले खुलाए । कुल ९६ प्रतिशत प्रगति भइसकेको अब यो सडक ठेक्का फरफारकको चरणमा रहेको उनको भनाइ छ । यतिबेला अप्रोच सडक बनाउने काम भइरहको र मुख्य फिजिकल काम सकिसकेको भन्दै एक महिनाभित्रमा ठेक्का फरफारक हुने उनले बताए ।
मध्यपहाडी राजमार्ग अन्तरगत कुल १ हजार ८ सय ७९ किमि सडक मध्ये पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय कुश्मा पर्वत मातहत १ सय ७५ किमि सडक पर्दछ । जसमध्ये कास्की जिल्लामा ५७ किमि सडक रहेको इन्जिनियर पौडेलले बताए ।
भैसे जौबारीपुल सडक स्तरन्नोति तथा कालोपत्रे ३८ दशमलव ८ किमि रहेकोमा १० किमि सब बेस गर्ने कार्य सम्पन्न भएको छ । १२ किमि सडक खण्डमा सडक चौडा पार्ने तथा नाला र पर्खाल निर्माणको कार्य भइरहेको उनले जनाए । यसको ठेक्का प्रगति ३५ प्रतिशत रहेको छ ।
हरिचोक याम्दी पुल सडक स्तरोन्नति तथा कालोपत्रे २ दशमलव २ किमि बाटो ४ लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगति ६० प्रतिशत रहेको छ । यतिबेला २ किमि खण्डमा दुईतर्फ नै बेसको काम भैरहेको चैत्र मसान्तसम्म यो बाटो सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
इन्जिनियर पौडेलले अहिले भइरहेको याम्दी पुलको दायाँ र बायाँ एक(एक वटा पुल निर्माण गर्ने र पानिबिहाडमा अर्को एउटा पुल १ निर्माण गर्ने भनेर कुल तीनवटा पुलको ठेक्का मार्फत काम भइरहेको उनले खुलाए । यसको समग्र प्रगति ४० प्रतिशत रहेको छ । याम्दी पुलमा ४ वटा फाउन्डेसन बनाउने क्रममा ३ वटा फाउन्डेसन बनिसकेको पौडेलको भनाइ छ।
मध्यपहाडी राजमार्ग अन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ। आयोजना कार्यालयका अनुसार कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये स्तरोन्नति हुन बाँकी रहेको ५१ किमि सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ।
