पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि बुधबार लिग चरणका ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ ।
पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वायरी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ ।
दोस्रो खेल बिहान पौने ११ बजे पहिलो क्वालिफायर खेल्ने टुङ्गो लागेका सशस्त्र प्रहरी बल एपीएफ र आयोजक टाइगर ग्रुप पोखराबीच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुङ्गो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ ।
भोलिको तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुनेछ । भोलिको चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबीचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।
आज भएको खेलमा पुरुषतर्फ आर्मीले पुलिस र गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको थियो । यस्तै महिलातर्फ आयोजक टाइगर ग्रुपले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब र पुलिसले आर्मीलाई पराजित गरेको थियो ।
