पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपीएफलाई सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपीएफमाथि आर्मीले ३–० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्यो ।
यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकीलाई ३–२ सेटमा पराजित गरेको थियो । यस्तै पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा अब लिग चरणका खेलहरू हुनेछन् । पहिलो खेलमा जित निकाल्ने टोली र पराजित हुने टोलीले छुट्टाछुट्टै लिग खेल्नेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
