पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकी पुलिससँग ३–२ को सेटमा पराजित भयो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौँ सेटमा सम्हालिन नसक्दा खेल गुमाउनुपर्यो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियो ।
पाँचौँ सेटमा गण्डकीले सुरुआती अग्रता जोगाउन नसक्दा खेल १५–१० ले गुमाउनुपर्यो । यसअघि पुरुषतर्फ भएको खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटले पराजित गरेको थियो । यस्तै आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
