पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार ४ खेल हुने भएका छन् । शनिबारबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिन भोलि महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने तालिका छ । 

अब लिग चरणका खेल हुनेछ । सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्ने टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूह अन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा बिहान पौने ९ बजे पहिलो खेल हुनेछ । उक्त खेल महिलातर्फ ‘जित्ने समूह’का टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपीएफबीच प्रतिष्पर्धा हुनेछ । 

दोस्रो खेल महिलातर्फ ‘हार्ने समूह’का ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले खेल्नेछन् । उक्त खेलमा पौने ११ बजेबाट सुरु हुनेछ । 

तेस्रो खेल पुरुषतर्फ ‘जित्ने समूह’का भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । भोलिको अन्तिम तथा चौथो खेल पुरुषतर्फ ‘हार्ने समूह’का गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच हुनेछ । 

लिगपछि ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । ‘हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0