पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा बिहीबार राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आईटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोबाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बताए ।
उनका अनुसार मेलामा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनहरूको प्रदर्शनीको अलावा औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्युटर र मोबाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ । मेलामा हामी गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरूलाई पनि समावेश गर्ने जमर्को गरिरहेका छौँ ।
मेलालाई सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने गरी आयोजना गरिँदै छ,’ उनले भनेका छन्,‘ लगानीको सम्वर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन भन्ने नारा अनुरूप आयोजना हुने मेलामा अन्य प्रदेशका निजी क्षेत्रले अवलम्बन गरेका असल अभ्यासलाई पनि प्रदर्शन गरौँ, सहकार्यको नयाँ अध्याय सुरुवात गर्दै सो क्षेत्रको लगानी गण्डकी प्रदेशमा आकर्षित गरौँ भन्ने पुनीत लक्ष्य पनि हामीले राखेका छौँ ।’
सङ्घकी महासचिव शोभा गौतमका अनुसार मेलामा निजी क्षेत्रबीच सहकार्य र सम्भावनाबारे चर्चा पनि हुनेछ । प्रचार प्रसार संयोजक तथा सङ्घका कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार मेलामा विश्वस्तरमा चल्तीमा रहेका आर्टिफिसिएल इन्टलिजेन्स ( एआई), ( उन्नत सीसी टिभी सर्भिलेन्स पनि उपलब्ध हुनेछन् ।
















