पोखरा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा चिन्ता नभइ जहिलेसम्म सरकारमा रहन्छौ तबसम्म जनता र राष्ट्रका पक्षमा के काम गर्न सक्छौ कि सक्दैनौ भन्नेमा चिन्ता रहेको बताएका छन् । नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले सरकार टिकाउनका लागि नभएर जनताले परिवर्तनको अनुभूति गर्न सकुन् भनेर गएको दावी गरे । राष्ट्रका थाती रहेका समस्याहरू समाधान हुँदै जाउन्, विकास र समृद्धिका सामाजिक न्यायका आकाङ्क्षाहरू कार्यान्वयन हुँदै जाउन् भनेर सरकारमा गएको उनले प्रष्ट पारे । जतिबेलासम्म सरकारमा रहेपनि केही न केही राम्रा र परिणाममुखी काम गरेर कार्यसम्पादन गरौँ भन्नेमा ध्यान रहेको खुलाए ।
अर्थमन्त्री पौडेलले जनताको निराशालाई आशामा परिणत गर्न चाहेको बताए । अविकास र अधोगतिको चक्रमा फसेको मुलुकलाई तोडेर विकास र अग्रगतिको यात्रा गर्न चाहेको उनको भनाइ छ । त्यसका निमित्त वर्तमान सरकार निर्माण भएकोले सोही अनुसार सरकार अगाडि बढ्ने उनले सुनाए । हामीले समय मात्र गुजार्दैनौ कदममा कदममा एकपछि अर्को उपलब्धिमूलक काम गर्दै जाने प्रतिवद्धता जनाए । उपलब्धिका किर्तिमान कायम गर्दै मुलुकलाई ८४ को निर्वाचनमा लिएर जाने र ०८४ को निर्वाचन पछि नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाएर राजनीतिक स्थायित्व र समृद्धिको फराकिलो राजमार्ग निर्माण गर्ने दिशामा अगाडि बढ्न चाहेको उनले बताए ।
देश अस्थिरताको क्षेत्रमा फस्दै गएको र प्रतिकूलता थपिदै गएकोले जसरी आर्थिक सामाजिक रुपमा सांस्कृतिक रुपमा भयावह प्रवृत्ति निर्माण हुँदै गएको कारण यो परिस्थितिलाई नियन्त्रणमा लिएर लोकतन्त्र जोगाउनका लागि फेरि पनि विकास र समृद्धि सम्भव छ भन्नका लागि दुईटा ठूला पार्टी मिलेर सरकार बनाउनु पर्ने स्थिति बनेको स्पष्ट पारे । उपयुक्त विश्लेषण सहित सरकार निर्माण भएको कारणले कसैले चाहदैमा सरकार परिवर्तन नहुने दावी गरे । यो सरकार समीकरण र सहयात्रा ०८४ सम्मको निर्वाचन सम्म जाने ठोकुवा उनले गरे ।
उनले जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेश ल्याइएको बताए । संसद् छलेर अध्यादेश ल्याइएको भन्ने आरोपमा सत्यता नभएको उल्लेख गरे । सात बुँदे सहमतिको जगमा बनेको सरकार साझा नीति तथा कार्यक्रम हुँदै राजनीतिक संयन्त्रमार्फत चुस्त रुपमा चलिरहेको उनले बताए । देशको अर्थतन्त्रलाई कठिन अवस्थाबाट लयमा ल्याएको उल्लेख गर्दै मन्त्री पौडेलले ऋण र अनुदानबाहेकको मोडेलमा जानुपर्नेमा जोड दिए।
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यम्त्री खगराज अधिकारीले सबैले पार्टीको पद्धती अनुशासन लयवद्धतालाई पालना गर्नुपर्ने र नगर्नेलाई कारवाही गर्नु जायज भएको बताए । पूर्व उपाध्यक्ष भिम रावललाई गरिएको कारवाही तर्फ संकेत गर्दै उनले केन्द्रीय कमिटीले सर्वसम्मत पारित गरेको खुलाए । विकास निर्माणका कामदेखि लिएर पार्टीलाई एकतावद्ध बनाएर सामाजिक सद्भाव खलल पार्नेहरुको चुनौती समेत सामना गर्दै अगाडि बढ्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।
नेकपा एमाले कास्की जिल्ला कमिटीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा उपाध्यक्ष भेषराज बराल र सचिव दर्शन लामाले समेत बोलेका थिए ।
