पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा तेस्रो संस्करणको वडा खेलकुद महोत्सव हुने भएको छ । आगामी माघ २ गतेदेखि ६ गतेसम्म हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको आयोजक पोखरा महानगरपालिका वडा नम्बर १५ बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगितामा पुरुष स्तरीय, महिला स्तरीय, विद्यालय स्तरीय र अपाङ्गता भएका व्यक्तिको लागि गरेर चार क्याटेगोरीमा खेलाडी विभाजन गरेर प्रतिष्पर्धा गराइनेछ । पुरुष स्तरीय फुटबल, सडक दौड, भलिबल र ब्याडमिन्टन सिङ्गल तथा डबल खेल हुनेछ ।

महिलास्तरिय रस्साकस्सी, सडक दौड, भलिबल र ब्याडमिन्टन सिङ्गल तथा डबल खेल हुनेछ । विद्यालयस्तरीय छात्र फुटबल, छात्रछात्रा सडक दौड, छात्रछात्रा युनि हक्की र छात्र साइक्लिङ प्रतियोगिता तथा अपाङ्गता भएका व्यक्तिको लागि ह्विलचियर बास्केटबल र ह्विलचियर दौड हुने आयोजकले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा सदस्य तथा खेलकुद महोत्सव कार्यक्रमका संयोजक आशिष भण्डारीले प्रतियोगिता सञ्चालन गर्नको लागि १५ लाग खर्च लाग्ने अनुमान गरिएको बताए । महोत्सवमा समावेश खेलहरूका विजेता टीम तथा खेलाडीलाई नगद सहित ट्रफी मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष तोरण बहादुर बानियाँले खेल सम्बन्धी प्रतिभालाई बाहिर ल्याउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । वडाले ग्रासरूट खेलाडीलाई सँधै साथ समर्थन गर्ने गरेको उनको भनाइ छ ।

अध्यक्ष बानियाँले प्रतिभावान् खेलाडीको पहिचान गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उनीहरूलाई अगाडि बढाउनका लागि खेल गतिविधि वडाले गर्दै आएको बताए । सबै नागरिकलाई स्वस्थ राख्नको लागि समेत खेलकुदको आवश्यकता पर्ने भएकोले वडाले यसलाई प्राथमिकता दिएको उल्लेख गरे ।

स्थानीय प्रतिभा पहिचान र विकास, स्वास्थ्यप्रति जागरुकता वृद्धि, सामाजिक एकता र सद्भाव प्रवर्द्धन, युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको वडा सचिव युवराज पौडेलले बताए । खेलकुदको संस्कृति प्रवर्द्धन, सकारात्मक प्रतिष्पर्धा र अनुशासनको विकास एवं स्थानीय खेलकुद संरचनाको सुदृढीकरण गर्नु समेत उद्देश्य रहेको उनले जनाए ।

सोही महोत्सवको अवसरमा यू १९ महिला टिमकी खेलाडी रचना चौधरी र ग्रासरूटमा टेनिस खेलमा छनोट भइ निरन्तर प्रशिक्षणमा रहेका १० जना खेलाडीलाई प्रोत्साहन स्वरुप पौष्टिक सामाग्री वितरण गर्ने तयारी वडाले गरेको छ । महोत्सव सम्पन्न गर्न हिमालयन लाईफ नेपाल र राइट फर चिल्ड्रेनले थप आर्थिक र प्राविधिक सहयोग गर्नेछन् । ‘राष्ट्रिय गरिमा र समाज रुपान्तरणका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात् गर्दै महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0