पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले अहिले विधिलाई नमान्ने, रीतिथिति नमान्ने अराजक हिसाबले समाजलाई भत्काउने काम भइरहेको दावी गरेका छन् । लोकतान्त्रिक तमु सङ्घ नेपाल गण्डकी प्रदेश कमिटीले तमु ल्होसार/ ल्होछार को अवसरमा पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विश्वभर पुरानो समाजको विगठन भएर नयाँ समाजको निर्माण भइरहेको भन्दै पुराना विचार मर्दै नयाँ विचारहरू आइरहेका बताए । विचारको हिसाबले तथा सोचको हिसाबले धेरै कुरा नमिल्न सकेपनि हिजोका असल परम्पराहरूलाई कसरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।
एमाले गण्डकी इन्चार्ज गुरुङले राजनीतिको नाममा आर्थिक अपराधहरू बढिरहेको बताए । सहकारी ठगी सहित नियम कानून मिच्ने वा कमजोरी भित्र सामाजिक अपराध गर्नेहरू, आर्थिक अपराध गर्नेहरूको बिगबिगी बढिरहेको उनको भनाइ थियो । उनले यस्तो अवस्थाबाट देशलाई मुक्त गर्नको लागि तमु ल्होसारले सन्देश दिन सक्नुपर्ने बताए ।
एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले विगतदेखि नै अस्थिरको श्रृङ्खला बढ्दै गएकोले त्यसलाई अन्त्य गरेर देशलाई स्थिरता तर्फ लैजानको लागि दुई ठूला पार्टी मिलेर सरकार बनाउने परिस्थिति बनेको बताए । विकास निर्माण ठप्प, आर्थिक मन्दी, युवा पलायन लगायत समस्याको कारण प्रतिष्पर्धी पार्टी मिल्नु परेको उल्लेख गरे । दुवै पार्टी सुशासन र स्थायित्वको लागि अगाडि बढिरहेको बताए । नेपालमा अस्थिरता चाहने र स्थिरता दिन नचाहने शक्तिहरूले अनकौँ अफवाह फैलाइरहेको उनको दावी थियो ।
लोकतान्त्रिक तमु सङ्घ नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, एमाले केन्द्रीय सदस्य लोकतान्त्रिक तमु सङ्घ इन्चार्ज मिना कुमारी गुरुङ, लोकतान्त्रिक तमु सङ्घ नेपाल गण्डकी प्रदेश कमिटी उपाध्यक्ष पवित्रा गुरुङ र सचिव विष्णुमाया गुरुङले बोलेका थिए । कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका कलाकारले नृत्य तथा गायन प्रस्तुती समेत राखेका थिए ।