पोखरा । पोखरा पब्लिक स्कुलको ३० औँ वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पोखरा १४ अनुपमटोल चाउथेमा अवस्थित स्कुलले विभिन्न कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव सम्पन्न गरेको हो ।
वार्षिकोत्सव, अभिभावक दिवस तथा सम्मान कार्यक्रम अन्तरगत बिहीबार २०८० सालको एसइइ परीक्षामा विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याएका सलिना सुवेदीलाई नगद पच्चिसहजार रुपैयाँ र चाँदीको पदकले सम्मान गरिएको विद्यालयका भाइस प्रिन्सिपल विजय पौडेलले जानकारी दिए । द्वितीय भएकी रीतिका थापा तथा तृतीय भएका प्रतीक थापालाई चाँदीको पदकले सम्मान गरियो । यसका अलावा एसइइ उत्रिर्ण भएका सबैलाई सम्मान गरिएको थियो ।
कक्षा १२ एसएलसी परीक्षामा सहभागी बनेर विद्यालयको तर्फबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरू अर्चना क्षेत्री, प्रेजु पाठक, मनिष दर्जी सहित ३१ जनालाई समेत सम्मान गरिएको थियो । यसैगरी वार्षिक परीक्षामा प्रथम, द्धितिय र तृतिय हुने नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई १० गते र कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई बिहीबार सम्मान गरियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व नेपाली विभाग प्रमुख डा.रामनाथ ओझा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष वीर बहादुर बुढाथोकी, विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण के.सी., शिक्षक जीवन परियार लगायतले बोलेका थिए ।
वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीमा विद्यार्थीले तयार पारेका चित्रहरू राखिएको थियो। वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको थप आकर्षणको रुपमा लोकनृत्य, प्रत्यक्ष गायन, सांस्कृतिक भेषभूषा लगायत समेत रहेको थियो ।
आजभन्दा ३० वर्ष अगाडि स्थापना भएको यो विद्यालयमा नर्सरी देखि १२ कक्षा सम्मको पढाई हुन्छ । कुल १ हजार ५० को हाराहारीका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा ५५ जना शिक्षक र २५ जना कर्मचारी गरेर कुल ८० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । वार्षिकोत्सवको अवसरमा शिक्षक तथा कर्मचारी गरेर १७ जनालाई सम्मान समेत गरिएको भाइस प्रिन्सिपल पौडेलले जनाए । विद्यालयलाई आजको अवस्थासम्म ल्याउनको लागि साथ सहयोग गर्ने सबैप्रति संस्थापक प्रिन्सिपल केसीले आभार व्यक्त्त गरे ।