पोखरा । नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा शुभारम्भ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका व्यक्तिहरूको सहभागी रहेको छ ।
भाषा प्रशिक्षण कक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले नेपाल बहुभाषिक, बहु जातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँ देखि प्रचलनमा रहिआएका भेषभुषा, कला, संस्कृति तथा भाषा जस्ता महत्त्वपूर्ण पक्षहरूको संरक्षण तथा संवर्द्धन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश भित्र १०६ वटा भाषाहरू प्रचलनमा रहेको उल्लेख गर्दै सबै भाषाहरूलाई जोगाउँदै गण्डकी प्रदेशलाई भाषा तथा सांस्कृतिक रूपमा उदाहरणीय बनाउन प्रज्ञा प्रतिष्ठान सक्रिय रहेको जानकारी दिए।
प्रतिष्ठानले मध्यबिन्दु नगरपालिका सँगको सहकार्यमा बर्दघाटमा कुमाल जातीको भाषा र बाजा, गैडाकोटमा नेवा देय दबू सँगको सहकार्यमा नेपाल भाषा, तनहुँको भानुमा धिमें बाजा, मगर सङ्घ सँगको सहकार्यमा पोखरामा मगर भाषा, आर्थर समाज सँगको सहकार्यमा सोरठी नृत्य प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
झलकमान गन्धर्व सँगको सहकार्यमा २ महिने सारङ्गी बाजा, गल्याङ प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा गल्याङमा मगर भाषा, वालिङमा तमु भाषा, लमजुङमा कुमाल भाषा, लोपोन्मुख नाच प्रदर्शन, अकेस्ट्रा प्रस्तुति चाँडैनै सञ्चालन गर्दै गरेको समेत सदस्य सचिव श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा खेन्पो फुन्छोग लामा, भाषा प्रशिक्षक मिङ्मार ह्योल्मो, पोखरा ह्योल्मो गुम्बा समितिका अध्यक्ष सुमित्रा ह्योल्मो लगायतले ह्योल्मो भाषा पुरानो तथा उत्कृष्ट रहेको र लवज एवं व्याकरण समेत उत्कृष्ट रहेकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
नेपाल ह्योल्मो समाज सेवा समिति पोखराका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर ह्योल्मोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत ह्योल्मो आमा समूह कास्कीका अध्यक्ष रिता ह्योल्मोले र सञ्चालन पूर्ण ह्योल्मोले गरेका थिए ।