लेखनाथ । जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतङ्क व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्नेमा जोड दिएका छन् । मङ्गलबार लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा ओलियाले जिल्लामा चन्दा आतङ्क रोक्न व्यवसायीहरू लाग्नुपर्नेमा जोड दिए ।

उनले राज्यलाई नियमपूर्वक कर तिरिरहेका व्यवसायीले विभिन्न बहानामा चन्दा दिन नहुनेमा उनको जोड छ । ओलियाले सुरक्षा र आर्थिक विकास अन्तर्सम्बन्धित रहेको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने बताउँदै व्यवसायीलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन प्रहरी तत्पर रहेको जनाए ।

जिल्लामा चेक बाउन्सको मुद्दा, अनलाइन स्क्याम, सवारी दुर्घटना हुने क्रम बढ्दो रहेको र जिल्ला भित्रिने नाकाहरूमा डिजिटल चेक पोस्टको आवश्यकता औंल्याए । सो अवसरमा इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकलाई पनि स्वागत गरिएको थियो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ क्षेत्रको विकासमा विगतदेखि सङ्घले खेलेको भूमिकाबारेमा प्रकाश पारे । सङ्घका अध्यक्ष विनोद श्रेष्ठले जिल्लामा शान्ति सु–व्यवस्था राम्रो हुँदै गएको भन्दै लेखनाथ महोत्सवमा पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइदिन आग्रह गरे । कार्यक्रममा सङ्घकी महासचिव जानुका अधिकारी र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0