लेखनाथ । लेखनाथ उद्योग वाणिज्य सङ्घले पुष १८ गते देखि माघ १ गते सम्म गर्न लागेको २० औं संस्करणको लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली प्रर्दशनी गरिने भएको छ । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने मूल नाराका साथ आयोजित महोत्सवलाई विगतका वर्षमा जस्तै यस वर्ष पनि सबै जातजाति र समुदायको भेषभुषा र संस्कृति झल्कने गरि झाँकी र्याली प्रर्दशनी गरिने भएको हो ।
महोत्सव उद्घाटन समारोहका दिन स्थानीय आमा समुह, टोल विकास संस्था, सामाजिक सङ्घ संस्थाको साथमा जातीय तथा धार्मिक सङ्घ संस्थाहरूको प्रतिनिधित्व हुने गरि मौलिक संस्कृति र जातीय भेष भुषाको पहिचान हुने गरि व्यवस्थित रुपमा झाँकी र्याली प्रर्दशनी गर्न लागिएको हो ।
झाँकी र्याली प्रर्दशनी व्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घकी महासचिव जानुका अधिकारीले महोत्सवको आयोजक उद्योग वाणिज्य सङ्घ भएपनि यसमा सबैको साथ र सहयोगले उत्कृष्ट महोत्सवका रुपमा स्थापित भएकाले यस वर्ष पनि आफ्नै घर आँगनको पर्वको रुपमा लिएर सहभागी हुनका लागि अनुरोध गरेकी थिइन् ।
सांस्कृतिक कार्यक्रम संयोजक मेजर रामप्रसाद गुरुङले कार्यक्रम प्रस्तुतिका निती, नियम र परिधिमा रहेर पुरस्कृत गरिने जानकारी गराएका थिए भने सङ्घका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु), उप महासचिव भरतराज ओझाले यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि महोत्सव गर्न लागिएको र विगतमा भएका कमी कमजोरीहरू हटाएर परिष्कृत रुपमा महोत्सव हुने विश्वास दिलाएका थिए ।
महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैँक तथा वित्तिय सङ्घसंस्थाहरू, डेरी तथा फलफूल, होटल तथा रेष्टुरेन्टका गरि करिव तीन सय ३५ वटा स्टलहरू रहनेछन् ।
लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैङ्कले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी इन्स्युरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।