पोखरा । पोखरामा डेङ्गी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान जारी रहेको छ । अभियान अन्तरगत सोमबार पोखरा ५ मा डेङ्गी सङ्क्रमण गराउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भएको छ । पोखरा ५ मा रेडक्रसकर्मी, वडा कार्यालय, जनप्रतिनिधि, रेडक्रस उपशाखा, स्वास्थ्य स्वयंसेवीका र पत्रकारको सहभागितामा अभियान सञ्चालन गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको स्वास्थ्य कार्यक्रम अन्तरगत डेङ्गु नियन्त्रण कार्यक्रमको फोकल पर्सन नवराज भण्डारीले कास्की शाखाले विगत ६ महिनादेखि डेङ्गु सचेतना सम्बन्धी अभियान सञ्चालन गरिरहेको बताए । खोज र नष्ट गर अभियानलाई नै महत्व दिनुपर्छ भन्ने उद्देश्यले जुटिरहेको उनको भनाइ छ । जाडोको मौसममा अनुसन्धानमुलक रुपमा अभियान सञ्चालन गरिएको र अभियानका क्रममा प्रशस्त लार्भा भेटिएको उनले सुनाए ।

आजभन्दा ५ महिना अगाडि पनि पोखराका विभिन्न वडामा यो कार्यक्रम गर्दा धेरै डेँगुका बिरामीहरू रहेका थिए । अहिले डेँगुका लार्भा छन् कि छैनन् भनेर खोज र नष्ट गर अभियानमा खोज्दै हिँड्दा आजसम्म १० वटा वडामा कार्यक्रम गरिएको उनले बताए । यसरी कार्यक्रममा जाँदा सबै वडामा अहिलेपनि डेँगुका लार्भाहरू सक्रिय रुपमा रहेको भेटिएको उनले खुलाए । त्यसकारण अभियान निरन्तर रुपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

१६ डिग्री सेन्टीग्रेट देखिबाट २६ डिग्री सेन्टिग्रेड सम्म डेङ्गुका लार्भाहरू सक्रिय हुने भण्डारीले बताए । पोखराको तापक्रम अहिलेपनि १७ को आसपासमा रहेको भन्दै चिसो मौसम भनिएपनि लार्भा सक्रिय भैरहेको खुलाए । जुनसुकै समयमा पनि डेङ्गुको हिसाबले जोखिममा रहेको कारण यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान लार्भा हटाउने, पानी जम्मा हुने ठाउँ बन्द गर्ने गरिएको छ । ५ एमएल पानीमा समेत यसले लार्भा अन्डाहरू विकसित गर्न सक्ने भएकोले यसलाई हटाउने अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए । माघ १५ पछि घमाइलो दिन सुर हुने र पानी पर्न थाल्ने भएकोले अर्को वर्ष झनै बढी सङ्क्रमण हुने सम्भावना रहेको उनले औँल्याए । सबै टोल विकास संस्था, आमा समुह, रेडक्रस, युवा क्लब, जनप्रतिनिधि सक्रिय रुपमा अहिले देखिनै लाग्न सकेनौ भने अर्को वर्ष यसले अझै महामारी हुने सम्भावना रहेको उनले खुलाए । यसलाई रोकथाम गर्न सबैजनाले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा फोकल पर्सन भण्डारीको जोड छ ।

डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यसले ससाना पानी जमेका स्थानमा फुल पार्ने गर्छ । खासगरी वर्षाको पानीस जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टीतेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । डेङ्गु एडिस एजिप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइसल सङ्क्रमण हो । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0