पोखरा । गण्डकी प्रदेशका ११ वटै जिल्लामा पौष ९ गते सम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा बिहीबार आयोजित विभिन्न खेल सङ्घका पदाधिकारीहरूको बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी गराएका हुन् ।
१० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा सदस्य सचिव शर्माले उक्त जानकारी दिँदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरू सहभागि बन्न नपाउने जनाएका हुन् ।
“१० औं राष्ट्रिय खेलकुदको निर्देशिका अन्तिम निर्माणको तयारीमा छ” सदस्य सचिव शर्माले भने–“पौष ९ गते सम्म आ–आफ्ना जिल्ला खेलकुद विकास समितिमार्फत दर्ताका लागि हामीले आह्वान गरेका छौं ।” उनले थपे–“दर्ता नभएका खेलाडीहरू आगामी चैत्र २३ देखि ३० गते सम्म कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् ।”
यसै गरी दर्ता र नवीकरण नभएका खेल संघहरूलाई यही पौष २० गते सम्म नवीकरण र दर्ताका लागि आह्वान गरेको छ । चैत २० गते सम्म दर्ता र नवीकरण नगर्ने खेल संघहरूलाई दर्ता रद्द गर्ने जनाउँदै बैठकमा सदस्य सचिव शर्माले दर्ता खारेज हुने खेल संघहरूलाई लेटर प्याड र छाप प्रयोगमा समेत रोक लगाइने बताए ।
खेल सङ्घका पदाधिकारीहरूको छलफलमा १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि खेल सामाग्रीहरूको समुचित वितरण, खेल प्रशिक्षकहरूको नियुक्ति, खेल मैदानहरुको सुधारलगायतका विषयमा आफ्ना धारणा राखेका थिए । उनीहरूले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्राप्त गरेको शाखलाई गुम्न नदिन परिषदले योजनावद्ध रुपमा आफ्ना कार्यक्रमहरू तय गर्नुपर्ने सुझाव समेत दिए ।
छलफलमा दशौँ राष्ट्रिय खेलकुदको छनौट कार्यक्रम गाउँपालिका तहहरूमा गर्न सुझाव दिँदै प्रदेशका सबै जिल्ला र पालिकाहरूमा अपनत्व हुने गरी अघि बढाउन समेत सहभागीहरूले जोड दिएका छन् । जसका कारण सबै पालिकाहरूले समेत खेलकुदको विकासमा साझेदारी गर्ने अवसर सँगै समुदायमा खेलकुदलाई जोड्न समेत छनौट कार्यक्रम अझै प्रभावकारी हुने उनीहरूको जोड थियो ।
१९ औं एसियाली खेलकुदमा नेपालको झण्डा अन्तर्राष्ट्रिय एरिनामा फहराउन सफल खेल प्याराग्लाइडिङलाई समेत १० औं राष्ट्रिय खेलकुदमा समावेश गर्न समेत उनीहरूले जोड दिएका छन् भने हरेक जिल्लामा सबै खेलका रेफ्रीहरूको उत्पादन हुनुपर्ने विषयलाई समेत गम्भीरता पूर्वक उठाए ।
सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले ११ वटै जिल्लामा खेल सङ्घहरूको विस्तार गर्दै पालिकास्तरमा समेत खेलका गतिविधि बढाउन खेल संघहरूलाई आग्रह गरे ।
त्यस्तै कार्यकारी सदस्य दिल बहादुर गुरुङले १० औं राष्ट्रिय खेलकुदमा प्राप्त शाखलाई जोगाउन सबै खेलसंघहरूले ध्यान केन्द्रित गर्न आग्रह गर्दै खेल संघहरूको समस्या समाधान गर्न परिषद संधै तयार रहेको उल्लेख गरे ।
त्यस्तै परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले खेलको विकासका लागि पालिकास्तरमा बाटनै संघहरुले ध्यान दिनुपर्ने जनाए ।