पोखरा । साइकल सिटी पोखराले आयोजना गरेको सातौँ संस्करणको टुर दि पोखरा साइकल र्‍यालीको तयारी पुरा भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार यसपालिको र्‍यालीमा पोखरा बजारको २४ दशमलव ५ किमि क्षेत्रको यात्रा गरिनेछ । ‘स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल’ नाराका साथ र्‍याली आयोजना गरिदैछ । सन् २०१२ मा स्थापना भएको साइकल सिटी पोखराले सन् २०१५ बाट टुर दि पोखरा कार्यक्रम आयोजना गर्न थालेको थियो ।

यस अगाडि ‘स्वस्थ मुटुको लागि साइक्लिङ’, ‘स्वस्थ मुटु सबैको लागि जहिले पनि जहाँ पनि’ ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’, ‘बोसो पगालौँ, इन्धन बचाऔँ’, ‘थोपा थोपा इन्धन बचाऊ’ नाराका साथ टुर दि पोखरा नाराका साथ र्‍याली सम्पन्न भइसकेका छन् । पोखरा सभागृहबाट सुरु हुने र्‍याली पोखराका विभिन्न भाग परिक्रमा गरेर पुन: सभागृह हलमा आएर समापन हुनेछ ।

साइकल सिटी पोखराका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले काठमाडौँ, ललितपुर, भक्तपुर, भैरहवा, बुटबल, नेपालगञ्ज, पाल्पा लगायतका ठाउँबाट समेत कार्यक्रममा सहभागिता रहने बताए । बाहिरबाट पोखरा आउनेलाई एक रातको होटलको सुविधा प्रदान गरिने उनले खुलाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष समेत रहेका साइकल सिटी पोखराका वरिष्ठ सल्लाहकार आनन्दराज मुल्मीले पोखरामा आउने पर्यटकलाई एकदिन भएपनि साइकल चलाएर यहाँका दृश्य हेर्न सकुन् भन्ने उद्देश्यका साथ साइकल सिटीले आफ्ना गतिविधि गरिरहेको बताए । केही समयमै पोखराका सातवटा ताल जोड्ने गरेर साइकल लेन तयार हुने विश्वास उनले गरे । टुर दि पोखरालाई अन्तराष्ट्रिय इभेन्टको रुपमा राख्ने आफूहरूको प्रयास रहेको उनले खुलाए ।

साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले विश्वमा दुई प्रकारका साइकल लेन हुने गरेको बताए । पोखरामा साइकल लेन निर्माण गरेपनि त्यसको पालना नगर्दा समस्या भएको गुनासो गरे । साइकल लेनलाई प्रभावकारी बनाउन प्रयास गरिरहेको उनको भनाइ थियो ।

टुर दि पोखराका अलावा साइकल सिटी पोखराले स्थापनाकाल देखि निरन्तर साइकल सम्बन्धी बिभिन्न गतिविधि गरिरहेको छ ।

शान्ति स्तूपा देखि रानीवनको बाटोमा साइकल ट्रयाक, पोखराका प्रत्येक पर्यटकीय गन्तव्यमा साइकल स्ट्यान्ड निर्माण लगायत साइकल सिटी पोखराको सक्रियतामा नेपाल मै पहिलो दावी गरिएको साइकल लेन निर्माण गरेको छ ।

केही वर्ष देखि जुन ३ विश्व साइकल दिवस तथा अन्नपूर्ण हिमाल आरोहण दिवसको सन्दर्भमा कार्यक्रम गर्दै आएको छ । आगामी जुन ३ मा ८ हजार मिटर माथिको हिमाल आरोहणको ७५ वर्षको अवसरमा फ्रान्सेली दुतावासले गर्ने कार्यक्रमका अवसरमा साइकल सम्बन्धि बृहत कार्यक्रम गर्ने समेत तयारी गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल र साइकल सिटी पोखराका सचिव रामचन्द्र भट्टले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0