पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका लागि कारक तत्त्वको रुपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा योगदान नगर्ने नेपाल सहित अन्य पर्वतीय तथा टापु राष्ट्रहरूले यसको सबैभन्दा नराम्रो असर भोगिरहनु चिन्ताको विषय रहेका बताएकी छन् । पोखरामा बिहीबारबाट सुरु भएको ‘फेवा संवाद २०२४’लाई सम्बोधन गर्दै उनले जलवायु जोखिममा रहेका देशहरूलाई अनुकूलनका लागि हानी तथा नोक्सानीको क्षतिपूर्ति वापत बिनासर्त वित्तीय स्रोत र प्रविधि उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।
उनले विकास प्रक्रियालाई तीव्रता दिइरहँदा विश्वव्यापी तापमान वृद्धिका कारण उत्पन्न जलवायु परिवर्तनले ल्याएका नकारात्मक प्रभावलाई न्यूनीकरण र जलवायु अनुकूलनका लागि विभिन्न तहमा तर्जुमा भएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न जरुरी रहेको भनाइ राखिन् ।
पूर्वराष्ट्रपति भण्डारीले यस्ता कार्यक्रमको आयोजनाले यस क्षेत्रमा रहेका मुलुक र जनता बीचको आपसी समझदारी र सहयोगलाई विस्तार एवं सुदृढीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ विश्वास गरिन् ।
नेपाल लामो समयसम्म संवैधानिक विकास, लोकतान्त्रिक अभ्यास र मानवअधिकार प्राप्तिको अभियानमा संलग्न हुनुपरेका कारण जनआकांक्षा अनुरुप आर्थिक, सामाजिक विकासका लक्ष्यहरू पूरा गर्न नसकेको भन्दै उनले निकट विगतको ठूलो राजनीतिक परिवर्तन पश्चात भने अब मुलुक आर्थिक, सामाजिक विकासतर्फ अग्रसर हुने परिस्थिति निर्माण भएको दावी गरिन् ।
आजको चुनौति भनेको सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अघि बढ्न समग्र राष्ट्रको क्रियाशील सहभागितालाई परिचालन गर्नु रहेको उनले बताइन् । अर्थतन्त्रको आधार र आकार सानो, साँघुरो र कमजोर भएकाले वाह्य एवं स्वदेशी लगानी प्रवाहलाई पूर्वाधार विकास र सेवाका क्षेत्रमा परिचालन गर्नु पर्ने आवश्यकता रहेको उनले उल्लेख गरिन् ।
आन्तरिक उत्पादनको शृङ्खला बढाई त्यसबाट उठ्ने राजस्व, स्वदेशी उद्योगको स्थापनाले दिने रोजगारी र आन्तरिक माग पूरा गरी गरिने निर्यात तथा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रको व्यवसायिकरणले नै दिगो विकासको सपनालाई साकार बनाउन सक्ने उनको भनाइ थियो।
गरिबी, भोक, कुपोषण र पिछडिएको संसार दिगो विश्व शान्तिको लागि बाधक रहेको भन्दै विश्वका विभिन्न भागहरूमा भइरहेका युद्ध, शक्तिशाली राष्ट्रहरू बिच हुने शस्त्रास्त्रको होडबाजी र अनेकौँ द्वन्द्व र तनावलाई न्यूनीकरण र निर्मूलीकरण गर्न संसारका शान्तिप्रेमी जनता एकजुट हुनु पर्नेमा पूर्वराष्ट्रपति भण्डारीले जोड दिइन ।
त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा केशरजंग बरालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपालका लागि चीनिया राजदुत चेन सङ, सिचुवान विश्वविद्यालयका उपाध्यक्ष प्रोयायो ली र त्रिभूवन विश्वविद्यालयका रेक्टर प्रा खड्ग केसीले बोलेका थिए ।
त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो । कार्यक्रम शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा चीन, नेपाल, भारत, पाकिस्तान, श्रीलंका,बंगलादेश, भुटान, मलेसिया, सिंगापुर, ईण्डोनेसियालगायतका देशबाट सहभागिता रहेको आयोजकको भनाइ छ ।