पोखरा । शसक्त नारी हस्ताक्षर, बहुप्रतिभाकी धनी साहित्यकार शकुन ज्ञवालीको मुक्तक सङ्ग्रह, खबरमा छु प्रिय ! घरदेश अर्थात पोखरामा आज परिचर्चा गरिएको छ ।
पुस्तक कृतिका हिसाबले खबरमा छु प्रिय ! चौथो कृति हो । उनका लोक दोहोरी, तीज गीत गरेर दर्जन एल्बम प्रकाशित भइसकेका छन् । यसअघि पालुवा मञ्जरी कविता सङ्ग्रह, तिमी र म कविता सङ्ग्रह र भन्दिनु है बा कविता सङ्ग्रह प्रकाशित भएका थिए । ज्ञवालीका गजल सङ्ग्रह, कथा सङ्ग्रह र उपन्यास प्रकाशोन्मुख छन् ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ सरुभक्तले मुक्तकको राजधानी पोखराबाट साहित्यको क्षेत्रमा उदाएकी शकुन बहुप्रतिभाकी स्रष्टा भएको बताए ।
शकुनको गायन, लेखन, सामाजिक परिवेश, घरदेशको अवस्था, विसङ्गति लगायतका हर क्षेत्रमा कलम चलेको छ । मन घरदेशमा राखेर प्रदेशमा बसेर साहित्यको सिर्जना गर्नु आफैँमा महान कार्य र संघर्षमाथिको जित भएको बताए ।
३० को दशमा पोखराबाट सिर्जनाको पनि मूल्य हुन्छ भनेर मुक्तकमा टिकट काटेर सहभागि हुने इतिहास जीवन्त रहेको बताउँदै उनले हालसम्म प्रचलित रुवाईया शैलीका मुक्तकहरूले आफ्नो पकड जमाएको बताए ।
हामीले बहुप्रतिभाकी धनि सर्जक शकुनलाई पाएका छौं । नेपालीमा भएको गुण नै त्यही हो । जहाँ रहेपनि गएपनि आफ्नो भाषा, संस्कार, संस्कृति र भईरहेका विकृतिका विरुद्धमा लेखकीय आन्दोलन चलाई रहेका छन् ।
शकुनका मुक्तकहरूले जीवनको बोध गराएका, जीवन दर्शनका कुराहरू गरेका बताउँदै चार लाइनको संरचनामा गहन र गहकिला, चोटिला र मिठास दिएका श्रेष्ठले बताए ।
प्राज्ञ हरिदेवी कोइरालाले शकुनको प्रतिभाको बयान गरेर साध्य नहुने बताइन्। परदेशमा जानु पहिलेका सङ्घर्षका कथाहरू सुनाउँदै उनले निरन्तर लगावका कारण शकुन नेपाली साहित्यका लागि सगुन भएर आएको बताइन्। उ बेलामा हामीले सँगसँगै थुप्रै गीतहरू गाएका छौँ ।
त्यो बेलाका सङ्घर्षका कथाहरू कति पीडाका थिए । कति अझै अगाडि बढ्नुपर्छ भनेर हामीले हार खाएका थिएनौ । भक्कानिदै कोईरालाले भनिन्, शकुनमा नआत्तिने र हर अफ्ठेरा परिस्थितिको सामना गर्ने शक्ति रहेको बताईन् । उनले ज्ञवालीलाई छिटै देश, पोखरामा फर्केर साहित्यको क्षेत्रमा संगै हिड्ने इच्छा जागेको बताउँदै फर्किन अनुरोध गरिन् ।
कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, मुक्तक मञ्चका अध्यक्ष रामजी आचार्यले नेपाली साहित्यको उन्नयनका लागि विदेशमा बसेर गरेको योगदान अतुलनीय रहेको बताए ।
परिचर्चाकार असफल गौतमले १८२ वटा मुक्तकहरु रहेको पुस्तकका मुक्तकहरूले सामाजिक विकृतिको चिरफार, जानु पर्ने बाटो र जीवनदर्शनका कुराहरुलाई बोलेको बताए ।
पुस्तकमा विषयगत मुक्तकहरु रहकेका छन् । पैसाले न्याय किन्ने परिवेशहरु खडा भएको बेलामा त्यसको शसक्त प्रतिरोध र जवाफ मुक्तहरुबाट दिएको बताए । गौतमले भने, शुकुनका मक्तकहरु पाठकमा कौतुहलता जगाउने खालका छन् । र समष्टिमा उनको लेखनमा अरुको भलो हुनु, भलो गर्नु नै जगत भलो हुने सन्देश रहेको बताए ।
कार्यक्रममा स्रष्टा शकुनलाई त्रिवेणी संगितालय, हरिदेवी कोईराला साहित्य सम्मान, लेखानाथ साहित्य प्रतिष्ठान र मुक्तक मञ्चले सम्मान गरेका थिए । सो अवसरमा कलाकार यादवचन्द्र भुर्तेलले बताएको साहित्यकार शकुनको चित्र हस्तान्तरण गरेका थिए ।
यसैबीच, कला साहित्य, संगीतको श्रीबृद्धिका लागि साहित्यकार ज्ञवालीले प्रतिष्ठानलाई रुपैयाँ १ लाख ५१ हजार रुपैयाँ अक्षय कोषको लागि प्रदान गर्ने घोषणा गरिन् ।
कार्यक्रम सप्तरंगि सांस्कृतिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष अभिमन्यु विक्रम राणाले संचालन गरेका थिए भने अध्यक्षता प्रतिषठनका अध्यक्ष नवराज वरालले गरेका थिए ।
