पोखरा । गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका हुन् ।
बैठकले चाडपर्वको समयमा तोकिएभन्दा बढी भाडा नलिने, सिट सङ्ख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न/गराउनेसहित चाडपर्व केन्द्रित ६ वटा निर्णय गरेको मन्त्री केसीले जानकारी दिए । यातायात व्यवस्थापनलाई चुस्त बनाउन आपसी समन्वय गर्ने, लामो दूरीमा चल्ने सवारी साधनले यात्रु टिकट अनिवार्य काट्नुपर्ने, उपभोक्ताको अधिकारलाई ध्यान दिएर व्यवसायिक मूल्यमान्यतालाई कायम गर्दै तोकिएको भाडा लिएर यात्रुलाई गन्तव्यमा पुर्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यातायात सेवालाई प्रभावकारी बनाउने, यातायात कार्यालयले आ–आफ्नो कार्यक्षेत्रमा अनुगमन गर्ने निर्णय बैठकले गरेको छ ।
विमानस्थलमा ट्याक्सीले बढी भाडा लिने गुनासोबारे ट्राफिक प्रहरी खटिएरै अनुगमन गर्ने निर्णय बैठकले गरेको मन्त्री केसीले जानकारी दिए । ‘विमानस्थलमा ट्याक्सीले साह्रै धेरै भाडा लिएको गुनासो धेरै छ । त्यहाँ ट्राफिक प्रहरी खटेर त्यसको अनुगमन गर्नुहुन्छ,’ मन्त्री केसीले भने, ‘चाडपर्वको बहानामा दुःख दिने काम राम्रो होइन । यो समयमा यातायात सेवालाई सहज बनाउनु सरकार मात्र होइन व्यवसायीको पनि दायित्व हो ।’ बाढीपहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध हुने समस्या रहेको र प्रदेश सरकारका संरचना आफ्नो कार्यक्षेत्रभित्र रहेर त्यसलाई समाधान गर्न चाडपर्वको अवधिमा पनि सक्रिय रहने मन्त्री केसीले बताए । बढी भाडा लिने, भनेअनुसार भाडा नदिए गन्तव्यसम्म नलैजाने गरेर दुःख दिने काम यातायात व्यवसायीबाट भएमा तत्काल ट्राफिक प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी संयोजक केदार पौडेलले राजमार्गमा खाल्डाखुल्डी धेरै रहेकाले त्यसलाई समाधान गरिदिन प्रदेश सरकारलाई आग्रह गरे । कम जनघनत्व भएका ठाउँमा गाडी चलाउँदा निकै घाटा रहेको भन्दै उनले सरकारले सहुलियतको व्यवस्था गर्नुपर्ने बताए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बाढीपहिरोजस्ता दुर्घटनाले पछिल्ला दिनमा बसमा यात्रुको चाप कम रहेको सुनाए । उनले चालकसहचालकलाई प्रशिक्षण, समयसमयमा अनुगमन, सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रमुख एसपी जनकबहादुर शाहीले लामो दूरीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने बताए । उनले आफूहरुले चालक राखे/नराखेको विषय कडाइका साथ अनुगमन गर्ने सुनाए । एसपी शाहीले लामो दूरीमा निस्कनुअघि आफ्ना सवारीमा अनिवार्य यान्त्रिक परीक्षण गर्न यातायात व्यवसायीलाई सुझाव दिए । उनले कुनै सवारीले बढी भाडा लिएर दुःख दिएमा १०३ वा १०० मा फोन गर्न सर्वसाधारणलाई आग्रह गरे ।
बैठकमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) दुर्गा सिंह, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, भौतिक पूर्वाधार मन्त्रालयका सचिव ई. कमलकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलिया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेश प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाही, सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति अरुण शर्मा, गण्डकी प्रदेशभित्रका यातायात व्यवसायी, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेय, नागरिक उड्यान प्राधिकरणका प्रतिनिधि योगेन्द्र कुँवर, उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका सचिव राजुराज अधिकारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी संयोजक केदार पौडेल, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, गण्डकी ट्याक्सी व्यवसायी प्रा.लि अध्यक्ष गान्धीराज गिरीलगायत सहभागी थिए ।