काठमाडौँ । विश्वविद्यालयहरूको गुणस्तर सुधार्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरक्रिया सम्पन्न गरेको छ। विश्वविद्यालयहरूको पठनपाठन, परीक्षा, गुणस्तर, भौतिक र अन्य स्रोत साधनको व्यवस्थापनमा कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयसँग अन्तरक्रिया गरी पृष्ठपोषण सङ्कलन गर्न सुरु गरेको हो । यसैक्रममा आइतबार सुदूरपश्चिमाञ्चल, नेपाल संस्कृत र त्रिभुवन विश्वविद्यालयसँग अन्तरक्रिया सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षा, सम्बन्धन लगायतका योजना समेट्न र विश्वविद्यालयलाई गुणस्तरका दृष्टिले प्राज्ञिक स्थल बनाउन अनुरोध गरिन् । नेपालका विश्वविद्यालयले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न तथा विदेशी विद्यार्थीलाई आकर्षण गर्न विशिष्टीकृत योजना बनाउन मन्त्री भट्टराईले जोड दिइन् ।
सो क्रममा सुदूरपश्चिम विश्वविद्यालयसँग आङ्गीक क्याम्पसको व्यवस्थापन, मर्जिङ र सम्बन्धन, योगदान र योग्यताका आधारमा सामाजिक सुरक्षा, शैक्षिक क्यालेन्डर, छात्रवृत्ति व्यवस्थापन, एवम् विश्वविद्यालय, अनुदान आयोग र मन्त्रालयको निरन्तर समन्वयका लागि त्रैमासिक प्रतिवदेन तयारी गर्ने विषयमा गहन छलफल भएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालय सँगको अन्तरक्रियामा शास्त्री र आचार्य तहका पाठ्यक्रम परिमार्जन, महत्वपूर्ण पुस्तकको डिजिटलाइजेसन, पठनपाठनमा आधुनिक र पूर्वीय दर्शनको एककीरण एवम् आयुर्वेद र स्थापत्य कला विषयको सञ्चालनका लागि जनशक्ति योजना र स्रोतसाधनको अध्यापन गर्ने विषयमा छलफल भएको बताइएको छ।
त्रिभुवन विश्वविद्यालय सँगको अन्तरक्रियामा परीक्षा र प्रश्नपत्रमा सुधार, शैक्षिक क्यालेन्डरका आधारमा शिक्षण सिकाइ तथा परीक्षा सञ्चालन, विश्वविद्यालयको पुनः संरचना, पाठ्यक्रम संरचना पुनरावलोकन, पुस्तकालय सुधार, परीक्षा प्रणालीको डिजिटलाइजेसन र विश्वविद्यालयलाई विद्यार्थी र समाजको समुदायको नजिक पुर्याउने विषयमा छलफल भएको जनाइएको छ।