पोखरा । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठगी कसूरमा आइतबार दिउँसो काठमाडौँमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार पोखरा ४ नालाकोमुखमा सञ्चालनमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा लगानी गरी सहकारी ऐनले परिभाषित ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

गोर्खा मिडिया नेटवर्क प्रा.लि.का संस्थापक सेयर होल्डर तथा सञ्चालक काठमाडौँ नक्साल घर भएका जोशी भागी विदेश जान लागेको भन्ने गोप्य सूचनाको आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शङ्खमूलबाट जरुरी पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिएको थियो । पक्राउ परेका जोशीलाई हवाई मार्गबाट आइतबार बेलुका नै अनुसन्धानको लागि कास्की ल्याइएको प्रहरीको भनाई छ । कास्की प्रहरीले उनी बाहेक अन्य व्यक्तिहरू उपर हालसम्म अदालतबाट पक्राउ अनुमति नलिएको जनाएको छ ।

यता गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपर  कास्की जिल्ला अदालतबाट हालसम्म पक्राउ पुर्जी जारी नभएको  सूचना अधिकारी सुरज अधिकारीले बताए । ‘पक्राउ पुर्जी जारी भएको छैन, हल्ला मात्र हो’ अधिकारीले भने । लामिछाने उपर कास्कीबाट पक्राउ पुर्जी जारी भएको हल्ला आइतबार साँझ फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0