पोखरा । कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाको आयोजनामा पोखरामा कृषि बीमासम्बन्धी प्रदेशगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टमा शुक्रबार आयोजित कार्यक्रममा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा कार्यक्रमका चुनौती, समाधान तथा अपेक्षा विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाले कृषि बीमाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या र आगामी कार्यदिशाबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव डा प्रेरणा सेढाईं भट्टराईले चालु आर्थिक वर्षदेखि कृषि तथा पशुपन्छी बीमाको जिम्मेवारी प्रदेश सरकारमा आएकाले यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको बताइन् ।
उनले गण्डकी प्रदेशले यस वर्ष बाढी, पहिरोलगायतका विभिन्न विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै कृषि उत्पादन तथा पशुपन्छीलाई विपद्जन्य जोखिमबाट सुरक्षित राख्न बीमा आवश्यक रहेको बताइन् । कृषि बीमाको महत्वबारे किसानलाई जानकारी गराउँदै बढीभन्दा बढी कृषकलाई बीमामा आबद्ध गराउनुपर्ने उनको भनाइ थियो ।
सचिव भट्टराईले बीमा कार्यक्रम सञ्चालनका लागि उपलब्ध जनशक्तिलाई आवश्यक सफ्टवेयर तथा प्रविधिमा अभ्यस्त बनाउनुपर्ने र बीमाबाट प्राप्त हुने लाभबारे कृषकलाई सचेत गराउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको विभागकी उपनिर्देशक डा सुलोचना श्रेष्ठले कोशी, मधेश र लुम्बिनी प्रदेशपछि गण्डकीमा प्रदेशगत अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । ती प्रदेशमा कार्यक्रमबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै उनले कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि बजेटरी तथा प्राविधिक सहयोग निरन्तर रहने बताइन् ।
श्रेष्ठका अनुसार बाँकी तीन प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिनेछ । कृषि तथा पशुपन्छी बीमा किसानका लागि उपयोगी कार्यक्रम भएकाले यसको लाभ लिन सबै कृषक सहभागी हुनुपर्ने उनको भनाइ थियो । बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनले बताइन् ।
त्यस्तै, नेपाल बीमा प्राधिकरणकी उपनिर्देशक निशा घिमिरेले निजी क्षेत्रको तुलनामा सरकारी सम्पत्तिको बीमा न्यून रहेको बताउँदै यसबाट सरकारले आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गरिन् । उनले जोखिम न्यूनीकरणका लागि सरकारी सम्पत्तिसहित कृषि तथा पशुपन्छी क्षेत्रमा बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा कृषि बीमाको वर्तमान अवस्था, प्रिमियममा अनुदान, बीमा दाबी, कार्यान्वयनका चुनौती, प्राविधिक पक्ष तथा किसानसम्म बीमाको पहुँच विस्तारका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा कृषि तथा पशुपन्छी क्षेत्रका प्राविधिक, सरकारी निकायका प्रतिनिधि, किसान तथा सहकारीरबीमा क्षेत्रका प्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो।
















