पोखरा । असल छिमेकी सहयोग संघ (गोनेसा) नेपालको २४ औँ साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साधारण सभासँगै संस्थाले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षणसमेत सार्वजनिक गरेको छ ।
कठिन परिस्थिति र विपन्न वर्गका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पोषणका क्षेत्रमा कार्यरत गोनेसाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ करोड २० लाख रुपैयाँको अनुमानित बजेट तथा कार्ययोजना सर्वसम्मत पारित गरेको छ । उक्त बजेट बाल विकास, विद्यालय भर्ना अभियान, जलवायु उत्थानशीलता तथा अनुकूलन र संस्थागत विकास कार्यक्रममा खर्च गरिने संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा संस्थाले तीन वटा बाल विकास केन्द्रको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति गरेको छ । पोखरा–७, चोरसाँघुमा सुविधासम्पन्न नयाँ बाल विकास केन्द्र भवन निर्माण गरिएको छ । पोखरा–९, नयाँबजार (शान्तिवन)मा नयाँ बाल विकास भवन बनाइएको छ । पोखरा–१७, रातोपैरामा रहेको मौजुदा बाल विकास केन्द्र भवनको मर्मत तथा स्तरोन्नति गरिएको छ ।
कार्यक्रममा सामाजिक तथा शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरूलाई दोशल्ला ओढाएर सम्मान गरियो । सामाजिक योगदान गर्ने रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराका अध्यक्ष वसन्त गौतम, विभिन्न विद्यावारिधि हासिल गर्ने डा धनेश्वर रखाल र डा विमलबहादुर कुँवर, तथा गणेशमान शान्ति सामुदायिक वन पुरस्कार प्राप्तकर्ता कृष्णबहादुर कुँवरलाई सम्मान गरिएको हो ।
बाल विकास केन्द्रको भवन निर्माणमा योगदान ईश्वर सापकोटा, खड्गबहादुर थापा र दिलबहादुर गुरुङलाई सम्मान गरिएको छ । पोखरा–१७ महतगौडास्थित जानकी माविको कक्षा १० मा अध्ययनरत छात्र समीर चौधरीलाई छात्रवृत्ति प्रदान गरियो ।

कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार वि.सं. २०५६ देखि अनौपचारिक तथा सुकुम्बासी बस्तीका बालबालिकाका लागि क्रियाशील संस्थाको सहयोगमा ६४१ जना बालबालिकाले विद्यालय शिक्षा पूरा गरी विभिन्न पेसामा आबद्ध भएका छन् ।
संस्थाका अध्यक्ष सुवेदीका अनुसार संस्थाले इटालीस्थित दातृ निकाय भिष्पेको सहयोगमा संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य ३ र ४ अनुरूपका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । संस्थाबाट २७६ जना बालबालिकाले सञ्चालित १२ वटा बाल विकास केन्द्रमार्फत सेवा प्राप्त गरेका छन् । संस्थाले ३७८ जना सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री (स्टेसनरी, पोसाक, झोला) तथा परामर्श सेवा दिएको छ । संस्थाले चलाएको स्वास्थ्य क्लिनिकमार्फत १,३०० जना बालबालिकालाई आधारभूत स्वास्थ्य सेवा लिएका छन् ।
विशेष उपचार सेवा अन्तर्गत १४३ जनाको नेपाल मणिपाल शिक्षण अस्पताल, ३ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोषण पुनस्थापना केन्द्र), ४ जनाको हिमालय आँखा अस्पताल र १ जनाको सहिद गंगालाल हृदय केन्द्रमा उपचार प्रदान गरिएको छ ।
समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले सामाजिक संघ–संस्थाहरू राष्ट्रको समृद्धि र विकासका सच्चा सहयात्री भएको बताए । ‘दुर्गम र पछाडि पारिएका समुदायको उत्थानमा गैरसरकारी संस्थाको भूमिका सराहनीय छ,’ उनले भने, ‘जिल्ला समन्वय समितिले संस्थाहरूलाई थप पारदर्शी र जवाफदेही बनाउन निरन्तर सहजीकरण गरिरहेको छ ।’
साधारण सभाले महासचिव श्याम कुँवरद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष निरमाया गुरुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
कार्यक्रममा पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्य, वडा–१७ का सदस्य विक्रम गुरुङ, वडा–२५ का सदस्य कृष्णबहादुर कुँवर, गैरसरकारी संस्था महासंघ कास्कीका उपाध्यक्ष सरोजनारायण बराल, पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत अर्जुनबहादुर क्षेत्री, जानकी माविका प्रधानाध्यापक अर्जुन कँडेल, सामाजिक परीक्षक नारायणप्रसाद पौडेल, संस्थाकी कार्यसमिति सदस्य केशु भुजेल र कार्यकारी निर्देशक शिवराज शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
















