पोखरा । पोखरा महानगरपालिका–७ ले वडाभित्रका धुलाम्मे सडकलाई स्तरोन्नति गर्ने अभियानअन्तर्गत दुईवटा सडकमा ढलानको काम सम्पन्न गरेको छ। वडा कार्यालयको सहयोगमा माछापुच्छ्रे टोलको घुम्ती मार्ग स्तरोन्नति तथा पेस ब्लक उपभोक्ता समितिमार्फत घुम्ती मार्ग र सक्षम मार्गमा सडक ढलान गरिएको हो। करिब २० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको ढलान सडकको बिहीबार एक कार्यक्रमबीच वडा अध्यक्ष राममोहन आचार्यले उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले सडक निर्माणका क्रममा खानेपानी र विद्युत्का लाइनलाई व्यवस्थित गरी रडसहितको ढलान गरिएको बताए। माछापुच्छ्रे मार्गलाई वडाको नमुना सडकका रूपमा विकास गर्ने योजनाअन्तर्गत पहिलो चरणमा धुलाम्मे रहेका दुई सडकको स्तरोन्नति गरिएको उनको भनाइ थियो।
स्थानीय उपभोक्ता तथा टोल विकास संस्थाको सक्रियतामा सडक स्तरोन्नतिको काम सम्पन्न भएको उल्लेख गर्दै अध्यक्ष आचार्यले वडाभित्रका सडकमा रहेका खाल्डाखुल्डी दशैंअघि नै पुर्ने प्रतिबद्धता जनाए। वडा भित्र रहेका खाल्डाखुल्डी पुर्ने देखि उज्यालो वडा बनाउने अभियानमा आफूहरु लागेको उनले बताए । यो अभियानमा सहयोग गर्न टोल विकास संस्था र आमासमुहलाई उनको आग्रह छ ।
वडा सदस्य अर्जुनबहादुर थापाले वडाभित्रका सडकको स्तरोन्नति तथा निर्माण भएका सडकलाई व्यवस्थित बनाउन वडा कार्यालयले निरन्तर काम गर्ने बताए।
उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर कार्कीले वडाको विकासका लागि वडा अध्यक्ष आचार्यले खेलेको भूमिकाको प्रशंसा गरे। माछापुच्छ्रे टोल विकास संस्थाकी अध्यक्ष संगीता खनालले लामो समयदेखि हिलाम्मे सडकका कारण स्थानीयले समस्या भोग्दै आएकोमा जनप्रतिनिधिको पहलमा सडक स्तरोन्नति भएपछि स्थानीय खुसी भएको बताइन्। कार्यक्रमको सञ्चालन समितिका सचिव गिरीधारी सुवेदीले गरेका थिए।
















