पोखरा । नेपाली मौलिक कला, सङ्गीत, नृत्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा तीनदिने ‘दशैं फेस्ट २०८३’ आयोजना हुने भएको छ ।

मिरर इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलको संयुक्त आयोजनामा असोज २४ देखि २६ गतेसम्म पोखराको अमरसिंह चौरमा फेस्ट आयोजना गर्न लागिएको हो ।

बिटुडी डान्स स्कुलका संस्थापक अमन तामाङले बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत फेस्टबारे जानकारी दिएका हुन् । उनका अनुसार दशैंको अवसरलाई लक्षित गर्दै आयोजना हुने फेस्टमा सङ्गीत, नृत्य, कला तथा संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ । नेपाली मौलिक संस्कृति तथा साङ्गीतिक विविधताको संरक्षणसँगै नयाँ पुस्ताका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको तामाङले बताए ।

फेस्टको पहिलो दिन असोज २४ गते ‘डान्सिङ सुपरस्टार’ कार्यक्रमसहित चर्चित साङ्गीतिक समूह तथा कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । दोस्रो दिन असोज २५ गते विद्यालयस्तरीय राष्ट्रिय लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा पोखराका विभिन्न विद्यालयबाट विद्यार्थीको सहभागिता रहनेछ भने विद्यार्थीहरूले नेपाली मौलिक लोकसंस्कृति र नृत्य प्रस्तुत गर्नेछन् ।

सोही दिन चर्चित गायक प्रकाश दुतराज तथा लाइभ ब्यान्ड लोकब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । असोज २६ गते विभिन्न स्थानीय ब्यान्ड तथा कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसहित फेस्टको समापन गरिनेछ ।

फेस्टमा कल्चरल प्रस्तुतीलाई प्राथमिकता दिइने तामाङ्गले जनाए । आयोजकका अनुसार मिरर इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले विगत लामो समयदेखि पोखराको कला, सङ्गीत तथा नृत्य क्षेत्रमा विभिन्न कार्यक्रममार्फत योगदान दिँदै आएका छन् । निरन्तर कार्यक्रम आयोजनामार्फत नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य रहेको तामाङले बताए ।

‘संगीत, संस्कृति र नृत्यलाई एउटै मञ्चमा’ भन्ने भावनासहित आयोजना गर्न लागिएको फेस्टमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको सहभागिताले पोखराको साङ्गीतिक तथा सांस्कृतिक वातावरणलाई थप उत्सवमय बनाउने आयोजकको विश्वास छ । यसले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सुरक्षा, कार्यक्रमस्थल व्यवस्थापन, प्राविधिक तयारीलगायत आवश्यक व्यवस्थापनका काम तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0