पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ले गण्डकी प्रदेशको यातायात कार्यालयमा ‘प्रमिट बेचुवा’ रहेको दाबी गरेका छन्। यातायात क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि व्यवसायी र सरकारी निकाय दुवैले सुधार गर्नुपर्ने उनले बताए। शुक्रबार पोखरामा एवन ग्रेटर नेपाल यातायात प्रालिको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष सिटौलाले एकअर्कालाई मात्र दोष दिएर यातायात क्षेत्रका समस्या समाधान नहुने बताए।
यातायात व्यवसायी स्वयं पनि सुध्रिनुपर्नेमा उनले जोड दिए । महासंघले पहल गरेर सट्टाभर्नाको व्यवस्था ल्याएको भए पनि त्यसलाई २० वर्षको विषयसँग जोडेर ‘खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने’ प्रवृत्ति यातायात व्यवसायीभित्रै रहेको उनले आरोप लगाए।

काठमाडौंमा ट्याक्सीको नम्बर १८ लाखसम्म पुगेको र पोखरामा पनि १० लाखभन्दा बढी पुगेको उल्लेख गर्दै उनले यस्तो अवस्था स्वाभाविक नभएको बताए। सवारीको नम्बर किनबेच गर्ने विचौलिया र दलालका कारण समस्या बढेको उनको भनाइ थियो। उनले यातायात क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्ने बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीले व्यवसायी संस्थाबीच एकीकरण तत्काल सम्भव देखिन नसकेको बताए। सबैलाई नेतृत्व र पदको चाहना भएकाले संस्था एकीकरणमा समस्या देखिएको उनको भनाइ थियो।

अर्का वरिष्ठ उपाध्यक्ष केदारप्रसाद पौडेलले यातायात क्षेत्रमा नीतिगत अस्पष्टताका कारण समस्या उत्पन्न भएको बताए। सरकारलाई नीतिगत सुधारका लागि महासंघले निरन्तर झकझकाइरहेको भन्दै उनले त्यसको परिणामको पर्खाइमा रहेको बताए।

एवन ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले व्यवसायीको हकहितका लागि संस्थाले निरन्तर काम गरिरहेको बताए। संस्थामा साढे चार सयभन्दा बढी सेयर सदस्य रहेको जानकारी दिँदै उनले संस्थालाई वर्तमान अवस्थामा ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने कामलाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा महासंघका उपमहासचिव भानुभक्त बराल, ट्याक्सी वर्गीय संयोजक प्रकाशमणि तिवारी, विधान मस्यौदा सदस्यसचिव योगेन्द्रबहादुर केसी, गण्डकी संयोजक महेशबहादुर थापा ‘गणेश’, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन गण्डकी प्रदेश अध्यक्ष बलराम सापकोटा, नेपाल यातायात मजदुर संघ गण्डकीका किरणबाबु पन्तलगायतले धारणा राखेका थिए। वक्ताहरूले सवारी साधनको चाप आवश्यकताभन्दा बढी रहेको भन्दै ट्याक्सी व्यवसायीका विभिन्न संघसंस्थाबीच एकीकरण आवश्यक रहेको बताए। वर्ग मिल्ने संस्थालाई एकताबद्ध गर्न महासंघले भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ थियो।

साधारणसभाका क्रममा १ सय ९५ चालकबाट गोलाप्रथा गरी वर्षभरि दुर्घटना नगराउने १५ जना चालकलाई सम्मान गरिएको थियो। यसैगरी व्यवसायीका कक्षा १२ उत्तीर्ण छोराछोरी, असल चालक तथा लामो समयदेखि सवारी सञ्चालन गर्दै आएका चालकलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो।

एवन ग्रेटर नेपाल यातायात प्रालिले पेशागत सुरक्षालाई प्राथमिकता दिँदै यात्रुलाई सरल, सहज र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको सञ्चालन संस्थाका सचिव गोकर्ण केसीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0