पोखरा । जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको दुईदिने वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। बिहीबार र शुक्रबार सञ्चालन भएको समीक्षा कार्यक्रममा विभिन्न गैरसरकारी संस्थाले आफूले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुति दिएका छन्।
कार्यक्रमको समापनका अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाहरूलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन वार्षिक समीक्षा सहयोगी हुने बताए । समीक्षा क्रममा देखिएका कमी–कमजोरीलाई सुधार गर्दै आगामी दिनमा थप परिमार्जन र परिष्कारसहितका कार्यक्रम अघि बढाउन उनले आग्रह गरे ।
पौडेलले आफू निर्वाचित भएदेखि नै सरकारी तथा गैरसरकारीसहित सामाजिक संस्थाहरूको पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वमा जोड दिँदै आएको उल्लेख गरे। गैरसरकारी संस्थाको कामलाई प्रभावकारी बनाउन नियामक निकाय र स्थानीय तहहरू पनि थप सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
राष्ट्र विकास र समृद्धिको यात्रामा गैरसरकारी संस्थाहरूको उपस्थिति र सहकार्य अपरिहार्य रहेको बताउँदै पौडेलले सरकारी निकाय र गैरसरकारी संस्थाबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, नागरिक समाजका अगुवा रामबहादुर पौडेल तथा पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरुङलगायतले गैरसरकारी संस्थाका गतिविधि र आगामी भूमिकाका विषयमा धारणा राखेका थिए ।
शुक्रबारको समीक्षा कार्यक्रममा असहाय बाल उपकार संघ, आईएनएफ नेपाल हरियोखर्क अस्पताल, लिबर्ड, रेन्बो चिल्ड्रेन होम, कर्मा फ्लाइट, गोनेशा, नेपाल हाउस कास्की, समन्वय नेपाल बाल गृह, सृजना विकास केन्द्र र सिबिन नेपाललगायत संस्थाले आ–आफ्ना कार्यक्रमको समीक्षा प्रस्तुत गरेका थिए।
यसअघि बिहीबारको समीक्षामा राइट फर चिल्ड्रेन, बाल कल्याण संस्था, शक्ति समूह, चिल्ड्रेन नेपाल, कोपिला नेपाल, दयाको सेवा नेपाल, साना हातहरू नेपाल, मानव अधिकारका लागि महिला एकल महिला समूह कास्की, बाल हितकारी परियोजना, थ्री एन्जल्स नेपाल, बहिनी एडुकेयर फाउन्डेसन, कोपिला चिल्ड्रेन होम, महिला सशक्तीकरण समाज र एसओएस बाहिनी नेपालसहित १५ वटा संस्थाले आफूले सञ्चालन गरेका कार्यक्रमको विवरणसहित समीक्षा प्रस्तुत गरेका थिए।
जिल्ला परियोजना सल्लाहकार समितिका संयोजकसमेत रहनुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता मालले स्वागत गरेकी थिइन् भने जिल्ला समन्वय अधिकारी नवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
जिल्ला समन्वय समिति कास्कीका सूचना अधिकारी लक्षु शर्माका अनुसार वार्षिक समीक्षा कार्यक्रमले जिल्लामा क्रियाशील गैरसरकारी संस्थाका गतिविधिबीच समन्वय, पारदर्शिता र जवाफदेहिता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















