रसुवा । बाढी प्रभावित क्षेत्रमा स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले हिमाली बाल कल्याण संरक्षण मञ्चले रसुवाका विभिन्न विद्यालय तथा वडा कार्यालयलाई युरोगार्ड हस्तान्तरण गरेको छ।

मञ्चले नौकुण्ड गाउँपालिका–५ र ६ का ११ विद्यालय तथा उत्तरगया गाउँपालिकाअन्तर्गतका विद्यालय र वडा कार्यालयलाई लक्षित गरी युरोगार्ड हस्तान्तरण गरेको हो।

मञ्चका उपाध्यक्ष टंकप्रसाद गुरुङको संयोजकत्वमा गएको टोलीले उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालको समन्वयमा उत्तरगया गाउँपालिका–५ का वडा अध्यक्ष यामनाथ आचार्यलाई डिजी एक्वा कम्पनीका ५० थान युरोगार्ड हस्तान्तरण गरेको हो।

उक्त सामग्री हस्तान्तरणका लागि नेपाल स्काउट, बागमती प्रदेशका सदस्यता वृद्धि आयुक्त श्याम पौडासैनीको विशेष सहयोग रहेको मञ्चले जनाएको छ।

हस्तान्तरण गरिएका ५० थान युरोगार्डको कुल मूल्य ८ लाख ३२ हजार ८ सय रुपैयाँ रहेको मञ्चले जनाएको छ।

बाढीका कारण खानेपानीका स्रोत तथा वितरण प्रणाली प्रभावित भएका क्षेत्रमा पानी शुद्धीकरण गरी सुरक्षित खानेपानीको पहुँच सहज बनाउने उद्देश्यले युरोगार्ड हस्तान्तरण गरिएको हो। विशेषगरी विद्यालय, वडा कार्यालय तथा स्थानीय समुदायलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन सामग्रीले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मञ्चका अनुसार बाढी प्रभावित समुदायका आधारभूत आवश्यकतामध्ये स्वच्छ खानेपानीलाई प्राथमिकतामा राख्दै सहयोग कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय तह, सहयोगी व्यक्ति तथा सम्बन्धित सरोकारवाला निकायसँगको सहकार्यमा प्रभावित क्षेत्रमा आवश्यक सहयोगलाई निरन्तरता दिइने मञ्चले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0