पोखरा । भोटेकोशी नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिबाट पोखराले सिक्नुपर्ने पाठबारे पोखरामा छलफल गरिएको छ। पृथ्वीनारायण क्याम्पसको भूगोल विभागले बुधबार आयोजना गरेको ‘भोटेकोशी नदी विपद्बाट सिकाइ र पोखराका लागि सचेतना भौगोलिक दृष्टिकोण’ विषयक कार्यक्रममा भूगोलविद् तथा विज्ञहरूले पोखरामा सम्भावित विपद् न्यूनीकरणका लागि पूर्वतयारी, नक्साङ्कन र तथ्यांकमा जोड दिएका छन्।

कार्यक्रमका मुख्य वक्ता अर्थक्वेक जियोलोजिस्ट डा. सोमनाथ सापकोटाले भोटेकोशी बाढी र त्यसबाट भएको क्षतिको भौगोलिक पक्षबारे प्रस्तुति दिँदै पोखराले त्यस्ता घटनाबाट समयमै पाठ सिक्नुपर्ने बताए। उनले सम्भावित विपद्को पूर्वतयारीका लागि बेसम्याप तयार गरी जोखिम क्षेत्रको म्यापिङ गर्नुपर्नेमा जोड दिए।

‘म्यापिङ’बिनाको विपद् तयारी प्रभावकारी हुन नसक्ने भन्दै सापकोटाले ज्ञान र तथ्यांकबिना विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई प्रभावकारी रूपमा अघि बढाउन कठिन हुने बताए। आवश्यक तथ्यांक उत्पादन र त्यसको प्रयोगका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो।

भूगोलविद् प्रा.डा. कृष्ण केसीले भर्खरै भोटेकोशी र त्रिशूली क्षेत्रमा देखिएको विपद्बाट पाठ सिक्दै पोखराले पनि सचेतना र तयारी बढाउनुपर्ने बताए। विगतको सेती बाढीको स्मरण गर्दै उनले सम्भावित जोखिमप्रति तत्काल आवश्यक तयारी र सतर्कता अपनाउनुपर्नेमा जोड दिए।
विपद् जोखिमबारे नागरिकमा सचेतना फैलाउने महत्वपूर्ण जिम्मेवारी विश्वविद्यालयको समेत रहेको उल्लेख गर्दै केसीले भिमाददेखि सेती नदीको शिरसम्म विस्तृत भौगोलिक नक्साङ्कन गर्नुपर्ने बताए।

प्रा.डा. कृष्णप्रसाद पौडेलले नदी किनार हुँदै सडक निर्माण गर्ने अभ्यासको पुनरावलोकन गर्नुपर्ने बताए। विगतमा लाङटाङ क्षेत्रमा जाँदाको अनुभव सुनाउँदै उनले हिमाली क्षेत्रमा देखिने ग्लेसियरसम्बन्धी घटना तथा प्रक्रियाबारे पनि पर्याप्त अध्ययन र सावधानी आवश्यक रहेको उल्लेख गरे।

पृथ्वीनारायण क्याम्पस भूगोल विभागका विभागीय प्रमुख डा. रामजीप्रसाद पोखरेलले प्राकृतिक रूपमा सुन्दर स्थानहरूमा जोखिमका सम्भावना पनि रहने भएकाले पोखराका कमजोरी पहिचान गरी समयमै सचेत हुनुपर्ने बताए। भोटेकोशीमा जस्तै विपद् पोखरामा आइपरे त्यसबाट कसरी जोगिने भन्ने विषयमा नागरिक तथा सरोकारवालालाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे।

कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले समयसापेक्ष विषयमा कार्यक्रम आयोजना गरेकोमा भूगोल विभागलाई धन्यवाद दिए।

कार्यक्रममा स्ववियु प्रतिनिधि प्रचण्ड शक्ति गुरुङसहित लेखनाथ खनाल, कमल ढकाल, बाबुराम शर्मा, लक्ष्मिशरण अधिकारी, गीता नेपाली र अनिसा भट्टराईलगायत सहभागीले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा पोखराको भौगोलिक अवस्थासँग सम्बन्धित जिज्ञासा र सुझाव राखेका थिए। भूगोल विभागका सदस्य सहप्राध्यापक नरेश पौडेलले स्वागत गरेको कार्यक्रम राजीव उपाध्यायले सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0