पोखरा । बागलुङको तमानखोलाको गाउँ। कृषि र पशुपालनमा निर्भर परिवार। बुबा भेडापालनमा व्यस्त। घरको आर्थिक अवस्था सामान्य। तर, यही परिवेशबाट आएका तुलसी सिर्पालीको सपना भने सामान्य थिएन—पढाइसँगै केही गर्ने, आफ्नै खुट्टामा उभिने र स्वदेशमै भविष्य खोज्ने।

पोखराको पृथ्वीनारायण क्याम्पसमा पत्रकारिता विषयमा स्नातक अध्ययन गरिरहेका तुलसी अहिले किताब र कापीसँगै मकैको स्वाद बेचिरहेका छन्। पोखरा–१, बगर भिमकालीपाटनमा उनले सञ्चालनमा ल्याएको ‘मकै चौतारी’ अहिले ग्राहकको आकर्षणको केन्द्र बन्दै गएको छ।

मकैलाई सामान्य परिकारका रूपमा मात्र नभई फरक स्वाद र शैलीमा प्रस्तुत गर्ने उनको प्रयासले छोटो समयमै ग्राहकको ध्यान खिचेको छ। विशेषगरी उनको आफ्नै शैलीमा तयार गरिएको मकैको चटपट अहिले ‘मकै चौतारी’को मुख्य आकर्षण बनेको छ।

पढाइ सकेपछि जागिर खोजौँला भनेर बस्नेभन्दा पढ्दै केही गरौँ भन्ने सोच तुलसीको थियो। पारिवारिक जिम्मेवारी र आफ्नो भविष्यप्रतिको चिन्ताले उनलाई उद्यमशीलतातर्फ धकेल्यो।

‘पढाइसँगै केही गरौँ र आफ्नै खुट्टामा उभिन सकौँ भन्ने सोच थियो,’ उनी भन्छन्, ‘नेपालमै केही नयाँ गर्न सकिन्छ भन्ने विश्वासले व्यवसाय सुरु गरेको हुँ।’

दिदी–भिनाजुको सहयोगमा उनले ‘मकै चौतारी’ सुरु गरे। ठूलो लगानी र ठूलो पूर्वाधारबाट होइन, एउटा सानो सोच र त्यसलाई व्यवहारमा उतार्ने साहसबाट उनको उद्यमको यात्रा सुरु भएको हो।

मकैको व्यवसाय गर्ने सोच उनलाई भारत भ्रमणका क्रममा आएको हो। भारतमा मकैबाट तयार गरिएका विभिन्न परिकारको व्यवसाय देखेपछि उनले त्यसबाट प्रभावित भएर नेपालमा पनि नयाँ अवधारणाका साथ काम गर्ने योजना बनाए। त्यही योजनाले अहिले ‘मकै चौतारी’को रूप लिएको छ।

एक महिनाको कारोबारबाट आफू उत्साहित रहेको तुलसी बताउँछन्। यद्यपि व्यवसायमा चुनौती पनि छन्। अहिले ताजा हरियो मकै पाउन कठिन हुँदै गएको छ। अफसिजनमा टाढाबाट मकै ल्याउनुपर्दा लागत बढ्ने गरेको उनको अनुभव छ। हाल मकैको चटपट प्रतिप्लेट एक सय रुपैयाँमा बिक्री भइरहेको छ।

तुलसीको दिनचर्या अहिले फरक छ। एकातिर कलेजका कक्षा र पत्रकारिता अध्ययन, अर्कोतिर व्यवसायको जिम्मेवारी। कहिले किताब र कलम समातेर कलेज पुग्छन्, कहिले ग्राहकका लागि मकै तयार पार्छन्। पढाइ र व्यवसायलाई सँगसँगै अघि बढाउने उनको प्रयासले उनलाई आफ्नै भविष्य निर्माणतर्फ अघि बढाइरहेको छ।

उनका लागि ‘मकै चौतारी’ आम्दानीको माध्यम मात्र होइन, आफ्नै सम्भावना खोज्ने अभ्यास पनि हो। ‘सानो कामबाट सुरु गर्न लाज मान्नु हुँदैन,’ उनी भन्छन्, ‘इच्छा र मेहनत भयो भने आफूले सक्ने कामबाटै अगाडि बढ्न सकिन्छ।’

तुलसी कुनै ठूलो व्यावसायिक घरानाबाट आएका होइनन्। गाउँको सामान्य परिवारबाट आएका उनले सीमित स्रोतका बीच सम्भावना खोजिरहेका छन्। उनको कथा ठूलो सफलता हात पारिसकेको युवाको कथा होइन। तर, सफलता खोज्न घरबाट निस्किएको र त्यसका लागि पहिलो पाइला चालिसकेको युवाको कथा हो।

पत्रकारिता पढ्दै गरेका तुलसीले कलमसँगै व्यवसायलाई पनि आफ्नो भविष्य निर्माणको माध्यम बनाएका छन्। आगामी दिनमा ‘मकै चौतारी’लाई विस्तार गर्ने उनको योजना छ। ग्राहकको साथ, परिवारको सहयोग र निरन्तर मेहनतबाट व्यवसायलाई अगाडि बढाउने उनको विश्वास छ।

पोखराको भीडमा मकैको चटपट बेचिरहेका तुलसीको सपना भने मकैभन्दा निकै ठूलो छ—पढाइ पूरा गर्ने, आफ्नै व्यवसाय विस्तार गर्ने र स्वदेशमै आफ्नो भविष्य निर्माण गर्ने। उनको यात्राले एउटा सन्देश दिन्छ—अवसर खोजेर मात्र पाइँदैन, कहिलेकाहीँ आफैँले सिर्जना गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0