पोखरा । बालबालिकाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा अधिकार संरक्षणका क्षेत्रमा निरन्तर क्रियाशील संस्था चिल्ड्रेन नेपालको सहयोगमा ‘सिर्जनशील बाल स्वावलम्बन समूह’को आयोजनामा सिर्जनशील बाल स्वावलम्बन समूह पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।
चिल्ड्रेन नेपालको सभाहलमा आयोजित विशेष समारोहका बीच १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन तथा पदस्थापन गरिएको हो। कार्यक्रममा विभिन्न सरकारी विद्यालयका ५६ जना बालबालिकाको सहभागिता रहेको थियो।
नवनिर्वाचित समितिको अध्यक्षमा अनुपा सुनार चयन भएकी छन्। त्यसैगरी उपाध्यक्षमा ओभिसा परियार, सचिवमा दिपीका सुनार, सह–सचिवमा सृष्टि वि।क। र कोषाध्यक्षमा कबिना अच्छामी निर्वाचित भए।
समितिका सदस्यहरूमा रियाना सुनार, श्रेया सुनार, रश्मी नेपाली, संयुक्ता लोहार, भूमिका वाग्ले, सुनिता दर्जी, सफलता परियार र एन्जल दर्जी रहेका छन्।
कार्यक्रमका क्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा र कार्यक्रम निर्देशक शिव शर्मा चापागाईंले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै पदस्थापन गराएका थिए ।
कार्यक्रममा बोल्दै चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले बालबालिकाहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउन तथा उनीहरूलाई स्वावलम्बी र जिम्मेवार नागरिकका रूपमा विकास गर्न बाल समूहको भूमिका महत्वपूर्ण रहेको बताए । उनले बालबालिकाहरूले आफ्ना विचार, भावना र प्रतिभालाई स्वतन्त्र रूपमा प्रस्तुत गर्ने अवसर पाउनुपर्नेमा जोड दिँदै समूहका गतिविधिहरूलाई सिर्जनात्मक, बालमैत्री र सहभागितामूलक बनाउन आग्रह गरे। साथै, बालबालिकाको नेतृत्व क्षमता विकाससँगै उनीहरूको हकहित र अधिकार संरक्षणका विषयमा पनि बाल समूह सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यक्रम निर्देशक शिव शर्मा चापागाईंले बाल समूह बालबालिकाको क्षमता विकास, नेतृत्व विकास र रचनात्मक सहभागिताका लागि महत्वपूर्ण माध्यम भएको बताए। उनले समूहका पदाधिकारी तथा सदस्यहरूले आपसी सहकार्य, अनुशासन र जिम्मेवारीका साथ अगाडि बढ्दै बालबालिकाका सवालहरू उठाउनुपर्नेमा जोड दिए। बालबालिकाहरूले सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उनले बताए।

कार्यक्रममा बोल्दै चिल्ड्रेन नेपालका कार्यक्रम अधिकृत रमेश सुवेदीले बाल समूह पुनर्गठनको मुख्य उद्देश्य बालबालिकाहरूलाई आफ्नो क्षमता, प्रतिभा तथा नेतृत्व विकास गर्ने अवसर प्रदान गर्नु रहेको बताए। उनले बालबालिकाहरूलाई आफ्ना विचार र आवाज स्वतन्त्र रूपमा व्यक्त गर्न, समूहमा मिलेर काम गर्न तथा बालबालिकासँग सम्बन्धित सवालहरू पहिचान गरी समाधानका लागि पहल गर्न बाल समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । साथै, बालबालिकाहरूमा नेतृत्व, सहकार्य, जिम्मेवारीबोध र निर्णय क्षमता विकास गर्दै उनीहरूलाई सक्रिय तथा जिम्मेवार नागरिकका रूपमा अघि बढाउन समूहका गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
पदस्थापनपछि मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष अनुपा सुनारले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरिन्। उनले बालबालिकाको हकहित, क्षमता विकास तथा रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिँदै समूहलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
चिल्ड्रेन नेपालको सहयोगमा बालबालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले यसअघि पनि विभिन्न विद्यालयमा बाल समूहहरू पुनर्गठन गरिएका छन्। यसक्रममा सहारा आधारभूत विद्यालयमा ‘समृद्धि बाल समूह’, कालिका माध्यमिक विद्यालयमा ‘परिवर्तन बाल समूह’ र कन्या माध्यमिक विद्यालयमा ‘उत्प्रेरणा बाल समूह’ पुनर्गठन भइसकेका छन्।
कार्यक्रमको सहजीकरण चिल्ड्रेन नेपालका कार्यक्रम अधिकृत रमेश सुवेदी, कार्यक्रम संयोजक सुजाता गैह्रे, कार्यक्रम सुपरभाइजरद्वय महेन्द्र पौडेल लीला न्यौपाने तथा सुनिता तिमिल्सिनाले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक होम माया कार्कीले गर्नुभएको थियो।















