पोखरा । भोटेकोसी बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ पोखरा–६, बैदाममा आबद्ध महिला तथा आमा समूहहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ९ हजार ६ सय ८५ रुपैयाँ जम्मा गरेका छन्।

विपत्तिले धनी–गरिब, उमेर वा अवस्था नहेर्ने भन्दै पीडितको आँसु पुछ्ने, घाउमा मलम लगाउने र दुःखमा साथ दिने मानवीय दायित्व पूरा गर्ने उद्देश्यले विभिन्न महिला तथा आमा समूहबाट रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको महिला सञ्जाल पोखरा–६ बैदामकी अध्यक्ष बबिता मल्लले जानकारी दिइन्। उनका अनुसार महिला सञ्जाल बैदामसहित सञ्जालमा आबद्ध ११ वटा महिला तथा आमा समूहले सहयोग गरेका हुन्।

सहयोग गर्ने समूहहरूमा बबिता मल्ल संयोजक रहेको महिला सञ्जाल बैदामबाट ११ हजार १ सय ११ रुपैयाँ, गौमती थापा अध्यक्ष रहेको नव प्रभात आमा समूहबाट २६ हजार रुपैयाँ, सिता पहारी अध्यक्ष रहेको जगदम्बा आमा समूहबाट १ लाख ७ सय ९५ रुपैयाँ, ईन्दिरा पहारी अध्यक्ष रहेको बैदाम महिला विकास समाजबाट ६५ हजार १ सय ११ रुपैयाँ, अञ्जना पहारी अध्यक्ष रहेकफ खहरे आमा समूहबाट २१ हजार रुपैयाँ, गोमा पंगेनी अध्यक्ष रहेको अन्नपूर्ण आमा समूहबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ र शान्ती पौडेल अध्यक्ष रहेको जरेवर उज्ज्वल दिदीबहिनी समूहबाट ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ।

त्यस्तै शकुन्तला अधिकारी अध्यक्ष रहेको नमुना आमा समूहले १ लाख ११ हजार २ सय २५ रुपैयाँ, लक्ष्मी थापा अध्यक्ष रहेको धादिङ त्रिपुरा वाराही महिला समूहले १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ, इन्दिरा पौडेल अध्यक्ष रहेको मितेरी नारी समूहले १ लाख १ सय ११ रुपैयाँ र सिता गुरुङ अध्यक्ष रहेको बंगलादी आमा समूहले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।

सहयोग रकम संकलनमा सम्बन्धित समूहका अध्यक्ष तथा पदाधिकारीहरूको समन्वय रहेको थियो। महिला सञ्जालकी अध्यक्ष मल्लका अनुसार विपद्का बेला मानवीय संवेदना र सामाजिक एकता प्रदर्शन गर्दै पीडित परिवारलाई साथ दिने उद्देश्यले सहयोग गरिएको हो। उनले विपत्तिमा परेका नागरिकको पीडामा मलम लगाउन सक्नु नै मानवीय धर्म भएकाले आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने बताइन्।

रकम जम्मा गरेको जानकारी र बैंक दाखिला गरेको भौचर जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तानतरण गरेको अध्यक्ष मल्लले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0