पोखरा । गण्डकी प्रदेशमा सन् २०२६ को सुरुदेखि सेप्टेम्बर १० सम्म २ हजार ३ सय ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेश रोग नियन्त्रण केन्द्र पोखराका अनुसार प्रदेशका ११ जिल्लामध्ये मनाङबाहेक सबै जिल्लामा डेंगु संक्रमण देखिएको छ ।

केन्द्रका महानिर्देशक मन मोहन मिश्रका अनुसार सबैभन्दा बढी बागलुङमा १ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कास्कीमा ४ सय १८, गोरखामा १ सय ९८, तनहुँमा १ सय ३५, पर्वतमा ९९, स्याङ्जामा ७५, म्याग्दीमा ७२, लमजुङमा ३८, नवलपरासी पूर्वमा २७ र मुस्ताङमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकीका ८५ स्थानीय तहमध्ये ७२ पालिकामा डेंगु संक्रमण फैलिएको केन्द्रले जनाएको छ । पालिकागत रूपमा बागलुङ नगरपालिका, पोखरा महानगरपालिका, काठेखोला, जैमिनी, गोरखा र कुश्मालगायतका क्षेत्रमा संक्रमितको संख्या बढी रहेको महानिर्देशक मिश्रले जानकारी दिएका छन् । देशभरको संक्रमण दरसँग तुलना गर्दा गण्डकीमा डेंगु संक्रमण उच्च देखिएको उनले बताए ।

गत वर्षको तुलनामा यस वर्ष नेपालभर संक्रमण बढ्न सक्ने सम्भावना रहेकाले रोकथामका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उनको भनाइ छ । विभिन्न कारणले तथ्यांकमा नआएका संक्रमितको संख्या अझै धेरै हुन सक्ने भन्दै मिश्रले नियमित निगरानी, नियन्त्रण र रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

भौगोलिक रूपमा डेंगु संक्रमण फैलिँदै गएको र जलवायु परिवर्तनका कारण पनि यसको विस्तार बढिरहेको उनले उल्लेख गरे । साउनदेखि असोजसम्म डेंगुको जोखिम उच्च रहने भएकाले यस अवधिमा विशेष निगरानी र रोकथामका गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

स्थानीय तहमा विभिन्न गतिविधि सञ्चालन भइरहे पनि संक्रमण नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी हुने मिश्रले बताए । उनका अनुसार विद्यालयस्तरमा शिक्षा, बहुनिकायको प्रतिबद्धता तथा सहकार्य, नीति निर्माण र पैरवीसम्बन्धी कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।

डेंगुका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा उपचार गराउन उनले आग्रह गरेका छन् । डेंगुको परीक्षण तथा उपचारको सुविधा प्रदेश रोग नियन्त्रण केन्द्र पोखरासहित प्रदेशका अस्पताल र स्वास्थ्य संस्थामा उपलब्ध रहेको केन्द्रले जनाएको छ ।

यो वर्ष सबैभन्दा बढी अगष्ट महिनामा सङ्क्रमण देखिएको छ । अगष्टमा १ हजार २ सय ४७, सेप्टेम्बरको १० दिनमा ३ सय ८२, जुलाईमा ४ सय १५, जुनमा ७९, मे मा ५१, अप्रिलमा ३७, मार्चमा २६, फेब्रुअरीमा ३८ र जनवरीमा ३६ जनामा सङ्क्रमण देखिएको महानिर्देशक मिश्रले खुलाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0