पोखरा । सहारा क्लब पोखराले प्रदान गर्दै आएको सहारा पत्रकारिता पुरस्कार–२०८२ पत्रकार रोहितराज पराजुलीलाई अर्पण गरेको छ । क्लबको २८औँ वार्षिक साधारण सभाका अवसरमा मंगलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले नगद ३० हजार ५ सय ५५ रुपैयाँ राशि सहित दोसल्ला, सम्मानपत्र सहितको पुरस्कार पराजुलीलाई हस्तान्तरण गरेकी हुन् ।

पोखरा–१ निवासी पराजुली हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन् । उनले २०६१ सालमा आदर्श समाज दैनिकबाट विद्यार्थी पत्रकारिताको सुरुवात गरेका थिए । पराजुलीले यसअघि युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार, उत्कृष्ट खेल पत्रकार अवार्ड र अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लबले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । क्लबले २०६३ सालमा स्थापना गरेको यो पुरस्कार खेल पत्रकारिता विधामा नेपालकै पहिलो भएको दाबी गरेको छ । यसअघि २० जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिसकिएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सहारा क्लबले खेलकुद र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरिन् । उनले सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्तिले विकासमा समस्या सिर्जना गरेको भन्दै त्यसलाई निरन्तरता दिन नहुने बताइन् ।
सरकारले सहारा जस्ता संस्था तथा निजी क्षेत्रसँगको सहकार्य अगाडि बढाउनुपर्ने उनले बताइन् । मन्त्री गुरुङले विकास र समृद्धिको यात्रा सफल बनाउन सरकारलाई सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिन् । उनले सहारा क्लबलाई सरकार साथमा रहेको अनुभूति गराउने गरी विगतभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

मन्त्री गुरुङले बोलेर मात्र नभई काम गरेर देखाउनुपर्ने बताउँदै सहारा क्लबका गतिविधि सबैका लागि प्रेरणादायी रहेको उल्लेख गरिन् । संघसंस्थाको नेतृत्वमा रहने व्यक्तिहरू इमानदार भई विधि र विधानअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले सहारा एकेडेमीमा रहेका बालकहरू विभिन्न प्रतियोगितामार्फत अघि बढिरहेको बताए । मोफसलमा रहेर फुटबल खेलको विकासमा क्लबले निरन्तर काम गर्दै आएको उनले उल्लेख गरे । विभिन्न चुनौतीका बाबजुद क्लबले पोखराको खेल पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको उनको भनाइ थियो ।

कार्यक्रममा हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसी, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पुरस्कृत पत्रकार रोहितराज पराजुली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम तथा पुरस्कार छनोट समितिका संयोजक नारायण कार्कीलगायतले सहारा क्लबले गरेका कार्यको बारेमा बोलेका थिए ।

कार्यक्रममा क्लबका महासचिव गंगाराज पौडेलले वार्षिक प्रगति विवरण तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष मर्सानीले क्लबलाई कलर प्रिन्टर हस्तान्तरण गरे। पोखरा बुद्धचोककी सञ्जु गुरुङले आफ्नी आमा चित्रकुमारी गुरुङको स्मृतिमा सहारा क्लबलाई नगद ७८ हजार रुपैयाँ सहयोग गरिन् । सभामा उत्कृष्ट सदस्यका रूपमा सिद्धान्त थापामगर सम्मानित भए । यसका अलावा विभिन्न व्यक्तिलाई सम्मान तथा शैक्षिक पुरस्कार वितरण समेत गरियो । कार्यक्रम पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0