पोखरा । “बसाइँ सराइका सन्दर्भमा प्राथमिक उपचार” भन्ने मूल विषयका साथ विश्व प्राथमिक उपचार दिवस–२०८३ को अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की, प्राथमिक उपचार समितिको आयोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम प्राथमिक उपचार संयोजक बबिता सुवेदीको अध्यक्षतामा तथा सहसंयोजक सूर्यप्रसाद तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका पदाधिकारी, प्राथमिक उपचारक, जुनियर तथा युवा रेडक्रसका प्रतिनिधि, समुदाय तथा विद्यालयसँग सम्बन्धित व्यक्तित्व र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा शाखाले समुदायस्तर तथा विद्यालयहरूमा सञ्चालन गरेका वार्षिक प्राथमिक उपचारसम्बन्धी कार्यक्रम तथा गतिविधिहरूको समीक्षा गरिएको थियो। शाखाका सूचना अधिकारी नवराज भण्डारीले विगत वर्षमा सञ्चालन गरिएका प्राथमिक उपचार, जनचेतना, तालिम तथा समुदाय र विद्यालय केन्द्रित गतिविधिहरूको जानकारी प्रस्तुत गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा शाखाका कोषाध्यक्ष मोहनसिंह खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले प्राथमिक उपचारलाई केवल दुर्घटना वा विपद्का समयमा गरिने तत्कालीन सहयोगका रूपमा मात्र नहेरी प्रत्येक नागरिकको आधारभूत जीवनोपयोगी सीपका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी, जुनियर तथा युवा रेडक्रस र समुदायस्तरमा प्राथमिक उपचारसम्बन्धी आगामी कार्ययोजना, कार्यक्रम तथा गतिविधिहरूका विषयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री एवं जुनियर युवा संयोजक डिल्लीराम बरालले आफ्नो धारणा राखे ।

बरालले हरेक विद्यालयमा कम्तीमा दक्ष प्राथमिक उपचारक जनशक्ति तयार गर्ने तथा विद्यालय र समुदायमा आवश्यक सामग्रीसहितको ‘स्मार्ट फर्स्ट एड किट’ उपलब्ध गराउने अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले स्थानीय तह तथा पालिकाहरूसँग साझेदारी र सहकार्य गरी विद्यालय तथा समुदायमा प्राथमिक उपचार सामग्रीको पहुँच विस्तार गर्ने, नियमित प्राथमिक उपचार तालिम सञ्चालन गर्ने र आपतकालीन अवस्थामा तत्काल सहायता उपलब्ध गराउन सक्ने जनशक्ति निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने, “दुर्घटना तथा विपद् कहिले र कहाँ हुन्छ भन्ने निश्चित हुँदैन। त्यसैले घटना भएपछि मात्र प्राथमिक उपचार खोज्ने होइन, प्रत्येक विद्यालय र समुदायलाई प्राथमिक उपचारका लागि पूर्वतयारी अवस्थामा राख्नुपर्छ।” विद्यालयका शिक्षक, विद्यार्थी, जुनियर तथा युवा रेडक्रस स्वयंसेवक र समुदायका अगुवालाई प्राथमिक उपचारको व्यवहारिक ज्ञान र सीप प्रदान गर्न सकेमा आकस्मिक अवस्थामा धेरैको ज्यान जोगाउन सकिने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका मन्त्री सन्तोष अधिकारीले शाखाबाट सञ्चालन भइरहेका विविध मानवीय तथा सामाजिक गतिविधिका बारेमा जानकारी गराउँदै प्राथमिक उपचारलाई रेडक्रसको मानवीय सेवाको महत्वपूर्ण आधारका रूपमा थप व्यवस्थित गर्दै लैजानुपर्ने बताए ।

अन्तरक्रियाका क्रममा सहभागी प्राथमिक उपचारक तथा प्रतिनिधिहरूले विद्यालय र समुदायमा प्राथमिक उपचारको पहुँच, तालिमको निरन्तरता, प्राथमिक उपचार सामग्रीको उपलब्धता, विपद् तथा दुर्घटनाको समयमा तत्काल उद्धार र स्वास्थ्य सेवासँगको समन्वयलगायतका विषयमा सुझाव तथा धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति रमा न्यौपाने कोइराला, जिल्ला सदस्य पार्वती कर्के थापा, सुवास अधिकारी, खगेन्द्रराज पराजुली, पत्रकार श्याम कुँवरलगायत प्राथमिक उपचारकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्राथमिक उपचारसम्बन्धी ज्ञानलाई विद्यालय र समुदायको दैनिक जीवनसँग जोड्दै व्यवहारिक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्षता समेत ग्रहण गर्नुभएकी प्राथमिक उपचार संयोजक बबिता सुवेदीले विपद्, दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्याका बेला हरेक नागरिकले आवश्यक प्राथमिक उपचार तथा प्राविधिक सहायता पाउने वातावरण निर्माण गर्न सबै पक्षलाई सशक्त बनाउनुपर्ने बताउनुभयो। उहाँले प्राथमिक उपचारको ज्ञान र सीपलाई घर, विद्यालय, समुदायदेखि सार्वजनिक संस्थासम्म विस्तार गर्दै “हरेक नागरिक प्राथमिक उपचारका लागि सक्षम, हरेक समुदाय सुरक्षित” भन्ने अवधारणालाई व्यवहारमा उतार्नुपर्ने धारणा व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे।

विश्व प्राथमिक उपचार दिवसले प्राथमिक उपचारको महत्व, समयमै गरिने तत्कालीन सहयोग र मानवीय जीवनको सुरक्षामा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने सन्देश दिँदै आएको छ। कास्की रेडक्रसको उक्त अन्तरक्रियाले पनि प्राथमिक उपचारलाई तालिम, दक्ष जनशक्ति, आवश्यक सामग्री र स्थानीय तहसँगको साझेदारीमार्फत विद्यालय तथा समुदायको स्थायी क्षमताका रूपमा विकास गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0