पोखरा । गण्डकी अस्पतालमा मृतकका शव सुरक्षित तथा व्यवस्थित रूपमा राख्न आवश्यक शव संरक्षण फ्रिज निर्माणका लागि सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा मातहतका सातवटै सामुदायिक सेवा केन्द्रले आर्थिक सहयोग गरेका छन्।

समुदाय–प्रहरी साझेदारी तथा सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवाको उद्देश्यले संकलन गरिएको २ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई हस्तान्तरण गरिएको हो।

चेक हस्तान्तरण कार्यक्रममा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीलगायत सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

गण्डकी अस्पतालमा दुर्घटना, प्राकृतिक विपद्, आकस्मिक मृत्यु तथा अन्य घटनामा मृत्यु भएका व्यक्तिका शवलाई कानुनी प्रक्रिया र पहिचान पूरा नहुँदासम्म सुरक्षित राख्न पर्याप्त तथा व्यवस्थित सुविधा आवश्यक रहेको महसुस गर्दै सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको पहलमा रकम संकलन गरिएको हो।

अभियानअन्तर्गत सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीबाट ८३ हजार ८ सय ४६ रुपैयाँ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकबाट १५ हजार १ सय ५५, बैदामबाट १० हजार, बगरबाट ३० हजार, माटेपानीबाट ४७ हजार १ सय ५, लेखनाथबाट ५ हजार, कालिकाबाट १० हजार र हेमजाबाट १० हजार ५ रुपैयाँ सहयोग संकलन भएको छ।

चेक हस्तान्तरण गर्दै सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले सामाजिक सेवा र मानवीय सहयोग सामुदायिक प्रहरी सेवाको महत्वपूर्ण उद्देश्य रहेको बताए ।

उनले मृत्यु आफैँमा संवेदनशील र दुःखद अवस्था भएकाले मृतकको शवलाई सुरक्षित तथा व्यवस्थित रूपमा राख्ने सुविधा उपलब्ध गराउनु परिवार तथा आफन्तप्रतिको मानवीय दायित्वसमेत भएको बताए ।

अध्यक्ष पराजुलीले प्रहरी र समुदायबीचको सहकार्यलाई आगामी दिनमा थप मजबुत बनाउँदै जनहित तथा मानवीय सेवाका क्षेत्रमा सहयोग र सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी उपरीक्षक नवीन कार्कीले प्रहरी–समुदाय सहकार्यबाट सामाजिक समस्याको समाधान तथा जनहितका काममा सकारात्मक परिणाम हासिल गर्न सकिने धारणा व्यक्त गरेका थिए ।

गण्डकी अस्पतालमा निर्माण हुने शव संरक्षण फ्रिजले विभिन्न कारणले मृत्यु भएका व्यक्तिका शवलाई आवश्यक समयसम्म सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट मृतकका परिवार तथा आफन्तजनलाई समेत सहजता हुने विश्वास गरिएको छ।

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा मातहतका केन्द्रहरूको यो पहललाई समुदाय–प्रहरी साझेदारी, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई व्यवहारमा उतार्ने उदाहरणीय कार्यका रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0