पोखरा । पर्यटकीय राजधानी पोखराको व्यावसायिक तथा आर्थिक विकासको नेतृत्व अहिले दुई महिला व्यवसायीको काँधमा आएको छ। पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वमा महिला आएसँगै दुवै संस्थाले सहकार्य, समन्वय र एकताका माध्यमबाट व्यवसायीका साझा समस्या समाधान गर्दै समग्र कास्कीको आर्थिक विकासमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सहभागी व्यवसायी तथा पदाधिकारीहरूले साझा मुद्दामा दुवै संस्था एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष शोभा गौतमले नेतृत्व सम्हालेपछि सहकार्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताइन्। पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटन, उद्योग, व्यापार तथा लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको साझा आवाज आवश्यक रहेको उनको भनाइ थियो।
पोखरा र लेखनाथ क्षेत्रको व्यावसायिक विकास एकअर्कासँग जोडिएको उल्लेख गर्दै गौतमले दुवै उद्योग वाणिज्य संघबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताइन्।
“हामी दुवै संस्थाको उद्देश्य व्यवसायीको हकहित र क्षेत्रको आर्थिक विकास नै हो। त्यसैले साझा उद्देश्य प्राप्तिका लागि सहकार्य गरेर अघि बढ्नुपर्छ,” गौतमले भनिन्।
उनले व्यवसायीको विश्वास कायम राख्नु नयाँ नेतृत्वको प्रमुख जिम्मेवारी भएको बताउँदै व्यवसायीका समस्या, सुझाव र अपेक्षालाई प्राथमिकतामा राखेर संस्थागत निर्णय गर्नुपर्नेमा जोड दिइन्।
गौतमले ‘ग्रेटर पोखरा’को अवधारणालाई व्यवहारमा उतार्न निजी क्षेत्रले साझा धारणा निर्माण गर्नुपर्ने बताइन्। उद्योग, पर्यटन, कृषि, व्यापार तथा सेवा क्षेत्रको विकाससँगै व्यवसायीमैत्री नीति निर्माणका लागि सरकारसमक्ष निजी क्षेत्रको साझा आवाज पु¥याउनुपर्ने उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय उडान र पुडीटार औद्योगिक क्षेत्र प्राथमिकतामा
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा महिला नेतृत्व स्थापित हुनु गौरवको विषय भएको बताइन्।
उनले पोखराको पर्यटन विकास, लगानी विस्तार र व्यावसायिक वातावरण निर्माणका लागि निजी क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखिन्।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि अपेक्षित रूपमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पर्यटन तथा व्यवसाय क्षेत्रले त्यसको लाभ लिन नसकेको भन्दै यस विषयमा दुवै उद्योग वाणिज्य संघले सरकारसँग प्रभावकारी पहल गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, पोखरा महानगरपालिका–३३ स्थित पुडीटार औद्योगिक क्षेत्रको व्यवस्थापन तथा सञ्चालनलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने अधिकारीले बताइन्। व्यवस्थित औद्योगिक क्षेत्र निर्माणले स्थानीय उत्पादन, रोजगारी र लगानी विस्तारमा योगदान पुग्ने उनको धारणा थियो।
“पोखरा उद्योग वाणिज्य संघ हाम्रो अभिभावक संस्था हो। नेतृत्व फेरबदल भइरहन्छ, तर संस्थाबीचको सम्बन्ध, माया, सद्भाव र सहकार्य निरन्तर रहनुपर्छ,” अधिकारीले भनिन्।
उनले दुवै संघले दिदी–बहिनीको सम्बन्धजस्तै आत्मीयता कायम गर्दै व्यवसायीका राय, सुझाव र परामर्शका आधारमा साझा गन्तव्यतर्फ अघि बढ्नुपर्ने बताइन्।
प्रतिस्पर्धाभन्दा सहकार्यमा जोड
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोर्कण कार्कीले पोखरा र लेखनाथ उद्योग वाणिज्य संघबीचको सहकार्य पुरानो परम्पराको निरन्तरता भएको बताए। व्यवसायीका हकहितका लागि स्थापना भएका संस्थाबीच आपसी प्रतिस्पर्धाभन्दा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुमन भट्टराईले पछिल्लो समय व्यवसायीले आर्थिक तथा नीतिगत समस्या भोगिरहेको भन्दै त्यसको समाधानका लागि निजी क्षेत्रको साझा आवाज आवश्यक रहेको बताए।
उनले घरभाडा, कर, उद्योग तथा व्यवसाय दर्ता, नवीकरण र व्यवसाय सञ्चालनमा देखिएका प्रशासनिक झन्झटलगायतका समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी संवाद र पहल गर्नुपर्ने बताए।
स्थानीय उत्पादनको प्रवद्र्धन, स्वदेशी वस्तुको प्रयोग, पर्यटनसँग उद्योग तथा व्यापारलाई जोड्ने नीति र नयाँ लगानीको वातावरण निर्माणमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी व्यवसायीहरूले सहज कर नीति, बैंक तथा वित्तीय क्षेत्रको ब्याजदर, घरभाडा, उद्योग दर्ता तथा नवीकरण, बजार व्यवस्थापन, पर्यटन प्रवद्र्धन, लगानीको वातावरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए।
व्यवसायीहरूले पोखरा र लेखनाथलाई छुट्टाछुट्टै क्षेत्रका रूपमा नभई एउटै आर्थिक करिडोरका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिएका थिए। पर्यटनसँग कृषि, उद्योग, व्यापार र स्थानीय उत्पादनलाई जोड्न सके यस क्षेत्रको अर्थतन्त्र थप चलायमान बन्ने उनीहरूको भनाइ थियो।
दुवै उद्योग वाणिज्य संघको नेतृत्वमा महिला आएसँगै निजी क्षेत्रका संस्थामा महिला नेतृत्व र सहभागिताको विषयसमेत चर्चामा आएको छ। कार्यक्रममा दुवै अध्यक्षले महिला नेतृत्वलाई केवल प्रतिनिधित्वमा सीमित नराखी परिणाममुखी कार्यसम्पादनमार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव भरतराज ओझाले कार्यक्रम सञ्चालन गरेका थिए।
















